मकवानपुर । मकवानपुरमा पानीसहित आएको हावाहुरीले घरगोठसहित अन्नबालीमा क्षति भएको छ । आधादर्जन गाउँपालिकामा ग्रामीण क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।
हावाहुरीले इन्द्रसरोवर गाउँपालिका १ मार्खु स्थित सरस्वती बालबोधनी स्कूलको माथिबाट सल्लाको रूख ढलेर स्कुलको जस्तापातामा क्षति पुगेको छ ।
सोमबार पानीसहित आएको हावाहुरीले २६ घरपरिवारको घरगोठसहित अन्न बालीमा क्षति पुग्नुका साथै २२ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
यस्तै स्थानीय रामहरी घलान, दिल बहादुर स्याङतान, भक्तबहादुर वाइबा, तिलक बहादुर घलान, विष्णुमाया लामा, मानबहादुर नेगी र सुरजबहादुर घलानको घरमा हावाहुरीले क्षति पुगेको छ ।
हावाहुरीले भीमफेदी गापा(२, दमारका रणबहादुर थिङ, भीमफेदी गापा(९ का शङ्कर थिङको खाजा नास्ता खानलाई बनाएको घुम्तीमा क्षतिसँगै लोकल कुखुरा छ वटा मरेको छ । त्यस्तै भीमफेदी गापा(२, थाक्लेका रमन घलेको कुखुरा फर्मको जस्ता उडाउँदा १६ वटा कुखुरा मरी ५० हजार रुपियाँ बराबरको क्षति हुन पुगेको छ ।
यसैगरी राक्सिराङ गापा(१, चिरघारी भन्ज्याङका राजकुमार मुक्तान, कैलाश गापा(३ का शिवलाल ओझा र चन्द्रकुमारी चेपाङ, राक्सिराङ गापा(९, खरी टोलका नरेन्द्र मल्ल ठकुरी, भोज बिक्रम सिंह, शेरबहादुर प्रजा, उत्तरकुमार प्रजा, गैरी टोल खैराङका रञ्जित नेगी, सीता रुम्बाको घरको जस्ताको छाना हावाहुरीले उडाई क्षतिभएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार पानीसहित आएको हावाहुरीले क्षति भएको स्थानमा प्रहरी टोली खटिएका छन् ।