काठमाडौं, अनुसन्धान र प्रविधिको विकासलाई व्यवहारमा प्रयोग गर्दै व्यवसाय, प्रविधि तथा आतिथ्य क्षेत्रको रूपान्तरणमा जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । मिड भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दोस्रो राष्ट्रिय सम्मेलनमा सहभागीहरुले अनुसन्धान, प्रविधि, कृत्रिम बौद्धिकता, डिजिटल वित्तीय सेवालाई मयार्दित रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।
कलेजकी अध्यक्ष रितल राणाले अनुसन्धानले पछिल्ला दिनमा नयाँ–नयाँ ज्ञान, प्रविधि र आविष्कारको सम्भावना बढाउँदै लगेकोले त्यसको सही र आवश्यकताअनुसार प्रयोग गर्नुपर्नेमा जोड दिइन् । अनुसन्धानकर्ताले आफ्नो अनुसन्धानलाई कागजका पानामा मात्रै सीमित राख्न नहुने उनको भनाइ थियो । अनुसन्धानबाट प्राप्त ज्ञान र निष्कर्षलाई व्यवहारमा प्रयोग गर्न सके मात्रै त्यसको वास्तविक उपलब्धि देखिने र समाजका लागि त्यसले योगदान पुर्याउने राणाले बताइन् । अनुसन्धानले समाजको समस्या समाधान गर्न र देशको विकासमा योगदान पुर्याउन सक्ने भएकाले अनुसन्धानलाई प्रयोगसँग जोड्नुपर्ने उनले उल्लेख गरिन् । कलेजका रिसर्च हेड डा.पदम डंगोलले अनुसन्धानले तत्काल मात्रै नभई आगामी दिनमा नयाँ ज्ञान, प्रविधि र समाधानको विकासमा सहयोग गर्ने बताए ।
यसैगरी, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. सतीशकुमार ओझाले विश्वभर प्रविधिको विकास विभिन्न चरण पार गर्दै अहिले तीव्र गतिमा अगाडि बढिरहेको बताए । प्रविधिको विकाससँगै मानिसको काम गर्ने तरिका, व्यवसाय सञ्चालन गर्ने शैली र सेवा प्रवाहको प्रणालीमा समेत ठूलो परिवर्तन आइरहेको उनको भनाई छ । प्रविधिलाई केवल आधुनिकताको प्रतीकका रूपमा नभई उत्पादनशीलता बढाउने, सेवा सहज बनाउने र मानिसको जीवनलाई सरल बनाउने माध्यमका रूपमा प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।
पछिल्लो समय कृत्रिम बौद्धिकताको विकास निकै तीव्र रूपमा भइरहेको उल्लेख गर्दै उनले एआईको सही सदुपयोग गर्न विद्यार्थी तथा अनुसन्धानकर्तालाई आग्रह गरे । एआईलाई व्यवसाय, शिक्षा, पर्यटनलगायतका विभिन्न क्षेत्रमा सही ढंगले प्रयोग गर्न सकिने बताउँदै उनले प्रविधिलाई बुझेर त्यसको उपयोग गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए । सम्मेलनमा आचार्य श्री महेन्द्र वसिष्ठले वैज्ञानिक अनुसन्धान र आध्यात्मिक यात्राबीचको सम्बन्धका विषयमा चर्चा गर्दै आधुनिक समाजमा मानिसको मानसिक तनाव र असन्तुलन बढ्दै गएको बताए । पछिल्लो समय समाजमा आत्महत्यालगायतका नकारात्मक घटना बढिरहेको उल्लेख गर्दै उनले मानिसलाई मानसिक रूपमा शान्त र सकारात्मक बनाउन ध्यान तथा मेडिटेसनजस्ता अभ्यास आवश्यक रहेको बताए ।
विज्ञान र प्रविधिको विकाससँगै मानिसको आन्तरिक शान्ति र मानसिक स्वास्थ्यलाई समेत उत्तिकै प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । वसिष्ठले प्रविधिले मानिसको बाहिरी जीवनलाई सहज बनाए पनि मानिसको आन्तरिक शान्ति कायम राख्न व्यक्तिगत अनुशासन, ध्यान र सकारात्मक सोच आवश्यक पर्ने बताए ।
सम्मेलनमा विभिन्न अनुसन्धानकर्ताले व्यवसाय, प्रविधि, पर्यटन, वातावरण, डिजिटल वित्तीय सेवा, स्वास्थ्य, यातायात र आतिथ्य क्षेत्रसँग सम्बन्धित अनुसन्धानपत्र प्रस्तुत गरेका थिए । सम्मेलनले विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता तथा प्रविधि र व्यवसाय क्षेत्रका सरोकारवालाबीच नयाँ प्रविधि, अनुसन्धान र नवप्रवर्तनका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।