आर्थिक दैनिकले गत असार ११ गते ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेपछि सोही दिन गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले निर्देशनअनुसार झुटो, निराधार र भ्रमपूर्ण खण्डन निकाले । सरकारी सञ्चार माध्यम गोरखापत्र, द राइजिङ नेपाल, रेडियो नेपाल र नेपाल टेलिभिजनको हदसम्मको दुरूपयोग गरेर उक्त खण्डनलाई बढाईचढाई प्रचार गरे ।
गृह मन्त्रालयसँग सम्बन्धित अनलाइनहरूमा त्यसलाई व्यापकरूपमा प्रचार गराइयो । राजनीतिक आवरणमा सूचकका रूपमा काम गर्ने कार्यकताहरूलाई उक्त वक्तव्यको व्यापकरूपमा प्रचार गर्न लगाइयो । गृह मन्त्रालयको उक्त वक्तव्यको आधारमा मच्चाइएको स्याल हुइयाँले ‘गोयवल्स शैली’लाई बिर्साएको थियो । गृहको त्यही खण्डनमा लोली मिलाउँदै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी प्रवक्ता दिनेशराज मैनालीले असार १३ गते झुटो समाचारको खण्डन भनी झुटो खण्डन निकालेका थिए ।
उनले पत्रिका र अनलाइनमा पटक–पटक भ्रमपूर्ण कपोलकल्पित कथावस्तु बनाई समाचार लेख्दै प्रहरीलाई अनावश्यक विवादमा ल्याउने काम भएको, प्रहरी संगठनको नेतृत्व र मातहतका निकायबीच आदेश, कमाण्डको शृङ्खला नै खलबलाउने, फाटो ल्याउने मनसायले लेखिएको तथ्य र यथार्थमा आधारित रहेर मात्र समाचार प्रकाशन, प्रशारण गर्नुको साटो भ्रमपूर्ण सामग्री प्रकाशित गर्दै प्रहरी संगठनलाई विवादमा ल्याउन खोजेको र निन्दनीय कार्य गरेको दूषित उद्देश्य र कुत्सित मनसायसहित लेखिएको पीत पत्रकारिताको निकृष्ट नमूना भन्दै एसएसपी एवं प्रवक्ता मैनालीले कुनै पनि कोणबाट पुष्टि नहुने झुटो, भ्रमपूर्ण तथ्यहीन, काल्पनिक र भ्रामक सामग्री भनेर खण्डन गरेका थिए ।
उनले आर्थिक दैनिकको समाचारलाई त्यति धेरै विशेषण लगाएर गरेको खण्डनको मसी सुक्न नपाउँदै पदस्थापना भएको पाँच महिना पुग्न नपाउँदै एआईजी श्यामलाल ज्ञवाली र उपत्यका अपराध महाशाखाबाट एसएसपी मनोज ज्ञवलीलाई सरुवा गरियो । उनीहरूसँगै काठमाडौं प्रहरी परिसरबाट एसएसपी दानबहादुर कार्कीलाई पनि सरुवा गरिएको थियो । कुनै पनि कोणबाट पुष्टिको पछिल्लो प्रमाण उनीहरूको सरुवा हो । असार ९ गते शनिबार ४ बजे एआईजी ज्ञवलीले आफू मातहतको कुन प्रहरी अधिकृतलाई आफ्नो कार्यकक्षमा बोलाएर आरजु देउवा र कृष्ण सिटौलालाई पक्राउ गर्न आदेश दिएका थिए, त्यसको सीसीटीभी फुटेज सार्वजनिक गर्न प्रवक्त मैनाली अहिलेसम्म तयार भएका छैनन् । एआईजी ज्ञवालीले प्रहरीभित्रको आदेश कमाण्डको शृङ्खलाअनुसार आईजीपी बसन्त कुँवरलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठको उक्त आदेश जानकारी नै गराएका थिएनन् र गृहमन्त्री श्रेष्ठले प्रहरीको चेन अफ कमान्ड मिचेर आईजीपी कुँवरलाई घटनाको जानकारी नै नगराई एआईजी ज्ञवलीमार्फत सोझै आदेश गरेका थिए ।
गृहमन्त्री श्रेष्ठले आईजीपी कुँवरलाई गोजीको देउताजस्तो बनाएर नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा सबै काम ज्ञवालीलाई छाया आईजीपीको रूपमा अघि बढाएका थिए । चाहे टोपबहादुर रायमाझी भगाउँदा वा पक्राउ गर्दा÷नगर्दा होस् वा सचिव टेकनारायण पाण्डेलाई भगाउन गरिएको असफल प्रयास वा उनीसँग डा. आरजुलाई रकम दिएको भिडियो क्लिप बनाउँदा नै किन नहोस् ?, यी सबै प्रक्रियामा आईजीपी कुँवरलाई कुनै पुछतास वास्ताव्यास्ता केही गरिएको थियो । प्रधानमन्त्री प्रचण्डलाई एआईजी ज्ञवलीले दुई पटक लामो ब्रिफिङ गरेका थिए । उनले त्यस्तै ब्रिफिङ केपी ओलीलाई पनि गरेका थिए । भला, ती दुई ब्रिफिङ एक–अर्कामा बाझिने थिए तर उनले ती ब्रिफिङ दिनुअघि आईजीपी कुँवरलाई जानकारी गराएका थिएनन् ।
प्रहरीको चेन अफ कमान्ड त्यहाँ टुटिसकेको थियो, तर प्रवक्ता मैनालीले त्यसबारेमा केही बोलेका छैनन् । आफैँ कानुनका ज्ञाता ठान्ने प्रवक्ता मैनालीले कस्तो हुन्छ स्वच्छ पत्रकारिता भन्नेतर्फ नै नगई सोझै समाचारलाई पीत पत्रकारिताको नमूना करार गरेका छन् । एआईजी ज्ञवलीले बालकोट पुगेर ओलीलाई गरेको ब्रिफिङका आधारमा असार ५ गते बहुप्रतिक्षित विशेष सम्बोधन ज्ञवालीको फट्याइँ खुलेपछि भ्रुण हत्या भएको सन्दर्भमा पनि प्रवक्ता मैनाली चुपचाप रहेर प्रवक्ताको भूमिकालाई मौनताको कीर्तिमान कायम गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु देउवा र कृष्ण सिटौलालाई पनि बालकृष्ण खाणलाई जस्तै गरेर पक्राउ गर्ने योजना बनेको थियो ।
त्यसका लागि भिडियो क्लिप तयार पारिएको थियो । गृहमन्त्री श्रेष्ठको माओवादी विचारसँग असहमत रहेकोले आईजीपी कुँवरलाई जानकारी नै नगराई गृहमन्त्री श्रेष्ठले समान विचार भएका एआईजी ज्ञवलीलाई काखी च्यापेका थिए र नक्कली भुटानी शरणार्थी प्रकरणमा ज्ञवलीमार्फत नै अघि बढेका थिए । एआईजी ज्ञवली आईजीपी कुँवरलाई यही प्रकरणमा मुछेर आफू आईजीपी हुन चाहन्थे र गृहमन्त्री श्रेष्ठ त्यही प्रकरणमा छानीछानी कांग्रेसका नेतालाई मुछेर सिध्याउन तथा कांग्रेस माओवादी गठबन्धन टुटाएर आफूजस्तो कोही नभएको देखाउन चाहन्थे । त्यही कडीका लागि गृहमन्त्री श्रेष्ठले एआईजी ज्ञवालीलाई बालकोट पठाएका थिए । यी सबै कुरा ‘ओपन सेक्रेट’ हुन् ।
एआईजी ज्ञवाली र एसएसपी केसी त्यही साजिसमा संलग्न रहेका कारण कारबाहीस्वरूप सरुवामा परेका छन् भने कार्कीको सरुवा उनीहरूको लाज छोप्न गरिएको हो । प्रवक्ता मैनालीले कुनै पनि कोणबाट पुष्टि नहुने भनिएको त्यो समाचार प्रकाशित भएकै दिन साँझ आईजीपी कुँवरले प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई छुट्टाछुट्टै रूपमा ब्रिफिङ गरेपछि पुष्टि भइसकेको थियो, भला ज्ञवली मैनाली मण्डलीको थप चर्तिकता हेर्न त्यससम्बन्धी समाचार आर्थिक दैनिकले एक सातापछि मात्र दिएको थियो । प्रहरी हेडक्वाटर र रानीपोखरीबीचको शक्तिको टसलले प्रवक्ता मैनालीले आईजी कुँवरको ब्रिफिङ थाहा नै नपाएको हो कि अनदेखा गरेका हुन्, उनै जानून् । तर, उक्त साजिसको मतियार बनेको चाहिँ पक्का हो ।