काठमाडौं । हुन्डी, अनलाइन जुवा, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबारमा संलग्न भएको आरोपमा काठमाडौं बागबजारका रूपेश श्रेष्ठ पक्राउ परेपछि थप तीनजना पक्राउ परेका छन् । यही मंसिर ६ गते पक्राउ परेका श्रेष्ठमाथि अनुसन्धान गर्ने क्रममा थप तीनजना पक्राउ परेका हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मीनबहादुर जिसी, आशिष अग्रवाल र कुमार परियारलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरूले श्रेष्ठसँग मिलेर अवैध कारोबार गर्दै आएका थिए । श्रेष्ठलाई ब्युरोले ९९ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । उनको घरबाट ८९ लाख ६९ हजार नेपाली रुपैयाँ र अमेरिकी डलर सात हजार २६ बरामद भएको थियो । पैसा गन्ने मेसिनसमेत घरमा फेला पारेको प्रहरीले अनुसन्धानका क्रममा श्रेष्ठले करिब दुई अर्बको हुन्डी कारोबार गरेको पुष्टि भएको जानकारी गराएको छ । उनको धेरैजसो कारोबार अमेरिकामा हुने गरेको छ ।
श्रेष्ठसँग मिलेर काम गर्ने गिरोहमाथि नै अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । प्रहरीका अनुसार सो कारोबारमा रूपेशकी श्रीमतीको पनि संलग्नता देखिएको छ तर हाल उनी फरार छिन् । प्रहरीका अनुसार श्रेष्ठले हुन्डीको कारोबार क्रिप्टोमार्फत मिलाउने गर्दै आएका थिए । धेरै आफन्त अमेरिका भएकाले उनको त्यहाँ धेरै कारोबार रहेको प्रहरीले जनाएको छ ।