काठमाडौं । अनलाइनमार्फत क्यासिनो खेलाउने तीन जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, सर्लाही बागमती नगरपालिका घर भई हाल भक्तपुर सुर्यविनायक नगरपालिका बस्ने २१ वर्षीय निशानराज कार्की, सर्लाही बरथहवा नगरपालिका घर भई हाल भक्तपुर सुर्यविनायक नगरपालिका बस्ने २५ वर्षीय निशान गौतम रहेका छन् ।
क्यास एप, मिल्की वे, फायरकिरिन, अल्ट्रा पान्डालगायत एप्लिकेशनमार्फत विभिन्न खेलहरुमा अनलानमार्फत बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोली र पीआरसीबी ललितपुरको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले अनलाइन क्यासिनो खेलाउन प्रयोग भएका ल्यापटप तथा मोबाईलसहित उनीहरुलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागि प्रहरी परिसर टेकु पठाइएको जनाएको छ ।