कर्मचारी सरुवाको जिम्मेवारी पाएको सामान्य प्रशासन मन्त्रालयमा सरुवाका लागि दिनहुँ भिडभाड देखिन्छ। कोही भर्याङबाट तल र माथी गरेका देखिन्छन् भने कोही लबीको वर र पर लम्किरहेका हुन्छन्।
सरुवाको प्रक्रिया चलाउने कर्मचारी प्रशासन महाशाखा र शाखामा झुम्मिएका सरुवा माग्ने कर्मचारीहरुको तमासा हेर्नलायक नै हुन्छ। मन्त्रालयको मूलढोका बसेर हेर्ने हो भने कोही प्रसन्न मुद्रामा निस्किएका देखिन्छन् भने कोही कागती निचोरेको जस्तो अनुहार बनाएर निस्केका देखिन्छन्।
चाहेको निकायका लागि सरुवा मिलाएर प्रसन्न मुद्रामा निस्कनेहरुमा आर्थिक चलखेलबाटै आफ्नो सरुवा गराउन सफल हुन्छन् भने जिल्ला जिल्लाबाट आएकाहरु काठमाडौँको महंगीमा साताको बसाई गरेर पनि सरुवामा असफल हुन्छन् र निरुत्साहित भएर फर्कन्छन्। किन कि उनीहरु आर्थिक चलखेलभन्दा टाढा रहन्छन् र धोका खान्छन्।