तपाइँ सिंहदरवारभित्र छिर्नुभयो भने देश समृद्धितर्फ उन्मुख भएको पाउनुहुनेछ। कुनै पनि निकायमा साठी प्रतिशतभन्दा बढी कर्मचारीहरुको कुर्सी खाली नै हुन्छ। कोही फाइल थन्क्याएर क्यान्टिनमा गफ चुट्न ब्यस्त देखिन्छन् भने कोही हाजिर गरेर घरको कामतिर दौड्नेगरेको पाइन्छ।
कुर्सीमा बसेकाहरु कोही अनलाइनखबर हेर्न र कोही शेयरको भाउ कहाँ पुग्यो भनेर नेप्सेको वेबसाइटतर्फ माउस क्यारक्यार पारिरहेका देखिन्छन्। कोही त फेसबुकमै दिन विताएर तलब दुहुने काम मात्र गरेका हुन्छन्। कोही कर्मचारी पोशाकमै सडकतिरै हस्याङफस्याङ गर्दै कतै हिँडिरहेका देखिन्छन्। सेवाग्राही भने कर्मचारी कहिले आउलान् र काम होला भनेर कर्मचारीको कार्यकक्षको ढोकावाहिर ढुकेर बसिरहेका हुन्छन्।