न्युयोर्क । नेपाल सरकारका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संयुक्त राष्ट्रसङ्घको कार्यक्रममा भाग लिई न्युयोर्कस्थित नेपाली समुदायसँग अन्तक्र्रिया गर्नु भएको छ । नेपाली समाज अमेरिकाले न्युयोर्कको ज्याक्सन हाइटस्थित नेपाली भान्साघरमा आयोजना गरेको सो कार्यक्रममा मन्त्री यादवले नेपाल सरकारको स्वाथ्य नीतिसम्बन्धी कार्यक्रमबारे जानकारी गराउँदै नेपाली समाजका प्रतिनिधिहरुसँग यसरी भेट गर्न पाएकोमा खुसी लागेको बताउनुभयो । न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक राजदूत चक्र सुवेदी, उपवाणिज्यदूत संगीता न्यौपाने पनि सहभागी हुनुभएको उक्त कार्यक्रममा न्युयोर्कका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले मन्त्री यादवको स्वागत गर्दै आआफ्नो विचार व्यक्त गर्नु भएको थियो । यसरी विचार व्यक्त गर्नेहरुमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष तोरण गुरुङ, प्रवासी नेपाली मञ्चका अध्यक्ष सोमेन्द्र रंजित, जनसम्पर्क अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङ, नेपाली समाजका बरिष्ठ उपाध्यक्ष मनोजसिंह गुरुङ, तमु सोसाइटीका अध्यक्ष ओम गुरुङ, शेर्पा किङका अध्यक्ष टेम्बा शेर्पा, युनाइटेड किरात राईका अध्यक्ष ममता खालिङ राई, वृहत्तर सुदूरपश्चिम समाजका अध्यक्ष टीबी भण्डारी, प्रवासी एकता मञ्चका पूर्वअध्यक्ष टेक गुरुङ, आदिवासी जनजाति पत्रकार संघका अध्यक्ष मोहनसिंह लामा, उत्तर अमेरिका तामाङ सोसाइटीका वरिष्ठ उपाध्यक्ष लक्यान लामा, अमेरिका नेपाल कलाकार संघका अध्यक्ष वसन्ती राई र नेपाली समाज अमेरिकाका अध्यक्ष भरत लामा हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन नेपाली समाज अमेरिकाका कोषाध्यक्ष सुवर्ण शाक्यले गर्नुभएको थियो ।