काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले १७औं संस्करणको नाडा अटो सोको स्टल बुकिङका लागि रजिस्ट्रेसन खुला गरेको छ । नाडाले आगामी भदौमा गर्ने उक्त सोको लागि मंगलबारदेखि चैत्र ४ गतेसम्म स्टल बुकिङका लागि रजिस्ट्रेसन खुला गरेको हो ।
नाडाले काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आगामी २०८२ भदौ ३ देखि ८ गतेसम्म नाडा अटो सो गर्ने जनाएको छ । नाडाका अनुसार भारत र चीनलगायतका अटोमोबाइल कम्पनीहरूले समेत नाडा अटो सोमा सहभागी हुन चासो देखाएकाले यस वर्ष छिटै रजिस्ट्रेसन खुला गरिएको हो । सोमा भाग लिनेसम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने नाडाले जनाएको छ । प्रदर्शनीमा २–पाङ्ग्रे, ३–पाङ्ग्रे, ४–पाङ्ग्रे, लाइट कमर्सियल, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणलगायत वित्तीय संस्था र इन्स्योरेन्सलाई समूहअनुसार छुट्टाइएको हुँदा सोहीअनुरूप रजिस्ट्रेसन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
नाडा अटो सो समितिका सहसंयोजक अनुपकुमार बरालका अनुसार सवारीसाधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आमउपभोक्ताहरूलाई यस अटो सोले सकारात्मक ऊर्जा एवं नवीनतम प्रविधिको साक्षात्कार गराउनेछ ।