काठमाडौं ।बालेन शाह काठमाडौं महानगरपालिका प्रमुखको हैसियतले नेतृत्व सम्हालेको झण्डै तीन वर्ष भएको छ । आफू स्थानीय रैथाने, मतदाता, करदाता एवं महानगरको प्रमुखको आकांक्षी समेत भएको नाताले महानगरको विकासका बारेमा चिन्तित हुनुपर्ने भइहाल्यो । बालेनले गरेका काम, सामाजिक सञ्जालमार्फत हुने चर्चित पोस्ट, प्रतिक्रियाहरू, बोलाइ तथा व्यवहारका साथै भएका गतिविधिबारे चाख राखेर बुझ्ने, निगरानी गर्ने, लेख्ने, सम्बन्धित निकायसँग छलफल गर्ने एवं सुझाव समेत दिने गर्दै आएको हो ।
हालै महानगरपालिका परिसरभित्र अनौँठो र सोच्न पनि नसकिने अप्रिय घटना घट्न पुग्यो । महानगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरूको सहभागितामा बालेनको एकलौटी निर्णयको विद्रोह गर्दै, तीन महिनादेखि निलम्बनमा परेका र कार्यालय प्रवेशमा समेत निषेध गरिएका नेपाल सरकारका सहसचिव एवं महानगर पालिकाका कार्यकारी अधिकृतलाई आफ्नै कार्यकक्षमा आसिन गराएको सनसनीपूर्ण समाचार युटुबमार्फत आँखादेखि हाल भनेझै हेर्न पाइयो । विद्रोहको नेतृत्वकर्ता महानगरकी उपप्रमुख थिइन् भने अग्रपङ्क्तिमा महानगरका प्रवक्तालगायत वडाका अध्यक्षहरू देखिन्थे । यो कत्तिको राम्रो प्रक्रिया हो भविष्यले देखाउने नै छ ।
स्मरण रहोस्, प्रमुख बालेनले तीन महिनाअघि कार्यकारी अधिकृतलाई भ्रष्टाचारको अरोपमा कार्यकक्षमा नै तालाबन्द गरी अफिस प्रवेशमा प्रतिबन्ध लगाइएको थियो । जुन प्रक्रियावश कुनै हालतमा पनि सही निर्णय थिएन । विडम्बना यसकाविरुद्ध बोल्ने आँट कसैले पनि देखाएन चाहे त्यो महानगरको उपप्रमुख होस् वा प्रवक्ता । तर अहिले आएर काठमाडौं महानगरपालिका उदाङ्गिएको छ ।
महानगरमा पासा पल्टेको हो । हिजोसम्म प्रमुखको तारिफ गर्दै नथाक्ने पालिकाका प्रवक्ता स्वयं बालेनका विरुद्ध बोल्न र भण्डाफोर गर्न अग्रपङ्क्तिमा आएको सामाजिक सञ्जालमा हेर्न र सुन्न सकिन्छ । बालेनले जे पायो त्यो गरी ज्यादती गर्नेबारे हिजो नै विरोध गर्नुपर्ने थियो । तर त्यो हुन सकेको थिएन । विरोध नगरेकै कारण बालेनको मनोबल बढेको ‘मैले जे गरे पनि हुन्छ’ भन्ने सोच राखी लगाम नभएको घोडा सरह, डर त्रास देखाई मनपरी गर्न थालेको हो ।
प्रवक्ताले जनताले नसुनेका नयाँ कुराहरू सतहमा ल्याएका छन् । हिजोआज एकपछि अर्को अन्तर्वार्ता दिनेमा भ्याइनभ्याइ देखिन्छ । सोमध्ये रोचक तर जनतालाई स्तब्ध पार्ने आजसम्म पनि बाहिर आइनसकेको कुरा हो बालेनले मात्र प्रयोग गर्न एक्लो लिफ्ट । सो लिफ्ट बालेनको कार्यकक्ष आवतजावत गर्न एक करोड खर्चेर बनाएको तर सर्वसाधारण जनता एवं महानगरका कर्मचारीलाई समेत प्रयोग गर्न निषेध गरेको रहेछ । त्यस्तै, महानगरपालिका प्रमुख बस्ने लैनचौरस्थित निवास मर्मतका लागि मात्र विनाटेण्डर करोडौँ रकम खर्च गरी रकमको दुरुपयोग गरी नियम उलङ्घन गरेको आरोप छ । प्रवक्ताले आफ्नो मोबाइलमार्फत बालेन कुनै अपरिचित महिलासँग आपत्तिजनक अवस्थामा बसेको फोटो समेत पर्दाफास गरेको देखियो । त्यस्तै, एम्बुलेन्स खरिदमा भ्रष्टाचार गरेको आरोप लगाएको मात्र नभएर प्रमुख र उनका सल्लाहकारविरुद्ध अख्तियारमा उजुर समेत परेको अवस्था छ ।
बालेनको सचिवालयले सीसीटीभीको पाँच करोड घुससम्बन्धी छलफलको क्लिप तोडमोड गरी दुरुपयोग गरेको आरोप छ । नतिजा के निस्किने हो हेर्न बाँकी नै छ । पर्दाफासकै सिलसिलामा अरू के–के आउँदै होला हेर्न बाँकी नै छ । प्रवक्ताका अनुसार महानगरको वार्षिक २५ अर्ब बजेटमा हालसम्म जम्मा १२ प्रतिशत मात्र विकास निर्माणमा खर्च गर्न सकेको देखिन्छ । संस्था चलायमान र विकास निर्माणको गतिविधि नाप्ने मुख्य सूचक भनेको आर्थिक स्रोतहरूको सही उपयोग, परिचालनलाई मानिन्छ । रकम खर्च गर्न नसक्नुको मतलब काम गर्न न सक्नु, नगरेको मानिन्छ ।
बालेन महानगरको प्रमुख र समग्र व्यवस्थापनको जिम्मेवार लिनुपर्ने व्यक्ति हो । विगत तीन वर्षमा चारजना प्रशासकीय अधिकृत परिवर्तन भएबाट बालेन मिलेर काम गर्न असफल भएको देखिन्छ । पछिल्लो अधिकृतसँग त काण्ड नै हुनपुग्यो । परियोजनाको छनौटको कुरा गर्दा साना तीनबाहेक खासै तारिफ गर्न लायकको जनइच्छाअनुरूप आउन सकेको देखिँदैन । समग्रमा हेर्दा विकास व्यवस्थापनको मुख्य तीन मेरुदण्डजस्तै मानव संसाधन व्यवस्थापन, परियोजना व्यवस्थापन, वित्तीय व्यवस्थापनमा फितलो र कमजोरी भएको देखियो ।
बालेन गायन क्षेत्रमा एक सफल कलाकार, सेलिब्रेटी हुन्, त्यसमा दुई मत नहोला । अरू सेलिब्रेटीजस्तै उहाँका हजारौँ अनुयायीहरूले ठाउँ न कुठाउँ हाईहाई गर्ने भइहाल्यो, जुन सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती आएको देखिन्छ । त्यसैलाई राम्रो काम गरेको मान्नु कदापि हुन सक्दैन ।महानगरपालिका जनतासँग प्रत्यक्ष संलग्न हुनुपर्ने संस्था हो र जनता प्रतिजिम्मेवार हुनैपर्छ । यसको सफल सञ्चालन र संस्था हाँक्न केही व्यक्तिगत न्यूनतम योग्यता, क्षमता हुनुपर्छ । बालेनको जीत आफ्नो योग्यता क्षमताको भन्दा पनि पुराना ठूला राजनीतिक दलहरूकै कुकर्म, राम्रा उम्मेदवार दिन नसक्दा प्रमुखको चिठ्ठा परेको मान्न सकिन्छ । युवा जोस र जाँगर त्यसमा पनि सेलेब्रटीको हाईहाई पाएबाट प्रमुख पदमा पुगेपछि आफ्नो औकात यकिन गर्न नसकेको देखिन्छ ।
बालेन जनसमुदायबाट टाढा हुनु र जनसहभागितामा विश्वास नगर्ने तथा उपभोक्ताहरूसँग संवाद गर्न नरुचाउने प्रष्ट देखिएको छ । समुदायसँग बसेको, छलफल गरेको कहिल्यै देख्न पाएको, सुन्नमा आएको छैन । प्रमुख भएर मानवता देखाउन नै सकेन । आफूले नियुक्ति गरेका केही सल्लाहकारबाहेक महानगरका अरू जनप्रतिनिधिहरूसँग मिलेर काम गर्ने चाहना नहुनु तथा सनकको भरमा विनायोजना, प्राथमिकताका आधारमा एकल निर्णय लिएको देखिन्छ । जस्तै, टुकुचा उत्खनन् र घर भत्काउने (हाल महानगर बसेको कार्यालय भत्काउने लिस्टमा नै पर्छ), प्रशासकीय अधिकृतलाई निलम्बन, सुकुम्बासी बस्तीमा कानुनी प्रावधानको अध्ययनविना हस्तक्षेप आदि केही उदाहरण मात्र हुन् ।
कामभन्दा सामाजिक सञ्जालको प्रयोग गरी, स्टन्ट बाजी गर्ने, तिल (सानातिना काम) लाई पहाड बनाई जनमानसलाई भ्रममा पारेको देखिन्छ । न्युरोडको फुटपाथ र दरबार मार्गमा ग्रेनाइट ओछ्याउनु अर्को उदाहरण मान्न सकिन्छ । महानगर प्रहरी जनताको लागि भन्दा आफ्नो व्यक्तिगत प्रयोग गरी चरम दुरुपयोग गरेको देखिन्छ । जुन हालैको घटनामा प्रहरी बल प्रमुखको व्यवहार र कार्यशैलीबाट प्रष्ट देखियो । बाहिर जनमानसमा ‘बालेनको डोजर’ र प्रहरी प्रमुखको नाम दर त्रास देखाउनेमा पर्छ ।आफ्नो पक्षमा सूचना सम्प्रेषण गर्न, भाइरल बनाउन युटुबरको सहयोगमा एआई प्रविधिसम्मको दुरुपयोग गरी देशवासीलाई भ्रम फैल्याइएको देखियो । जसमा अमेरिकी राष्ट्रपतिले आफ्नो पक्ष बोलेको भनिएको छ ।
प्रमुखको पदमा कूटनीतिको ज्ञानको ठूलो महत्व रहेको हुन्छ । तर राष्ट्र प्रमुख सरिक आफ्नै नेतृत्वमा हुने कार्यक्रम, इन्द्रजात्राजस्तो राष्ट्रिय कार्यक्रममा बहिस्कार गरिनु, सरकार प्रमुखसँग मतभेदका कुरा फेसबुकमा स्टाटस पोस्ट गरी कतै लुक्ने तर आमनेसामने कुरा छलफल नगरी, गाली गालौच गर्ने, दम्भ देखाउने गरेको देखियो । जुन विकास निर्माण कार्यको लागि राम्रो मानिँदैन । बालेनले आफ्ना अन्धभक्तहरू (अदृश्य कार्यकर्ता) प्रयोग गरी ‘बालेन सिटी’ भन्न लगाएको मात्र नभई इन्द्रजात्राजस्तो पर्वमा बालेन सिटी लिखित पहिरन लगाएर परेड गर्न लगाएर जात्रा नै बिथोल्ने प्रयास गरे । ऐतिहासिक काठमाडौं नामलाई नै चुनौती दिन भ्याए ।
सामाजिक सञ्जालमा चमत्कार गर्यो, कसैले गर्न नसकेको गर्यो भन्नुको कुनै तुक देखिँदैन । चाहे त्यो सामाजिक सञ्जालमा देखिने वरिष्ठ बुद्धिजीवी अभियान्ताहरूले नै बखान गरेका किन नहुन् । काम कुराभन्दा प्रचार बढी भएको देखियो । यसबाट बालेन अपरिपक्व, दूरदृष्टिको कमी पुष्टि हुन्छ । काठमाडौंवासीहरूको लागि योभन्दा ठूलो दुर्भाग्य अरू हुन सक्दैन ।यति हुँदासम्म पनि महानगरपालिकाका प्रवक्ता बालेनका सहयोगी पनि हुनुले किन कुरा उठाइएन ? वडाध्यक्षलगायत जनप्रतिनिधिहरूबाट किन विरोध गरिएन ? विरोध गर्नुको मतलब सच्चिने मौका पनि दिनु हो भन्दा फरक नपर्ला ।
हालैको प्रशासकीय अधिकृतको काण्डपछि कर्मचारी युनियनको अगुवाईमा महानगर पालिकाभित्र देखेका विकृतिलगायत भ्रष्टाचारको मुद्दालाई लिएर ज्ञापनपत्र बुझाएको र कारबाहीको लागि माग गरेको सुनिन्छ । यसको नतिजा के हुने हो हेर्न बाँकी नै छ । हालैको विद्रोहबाट महानगरपालिका दुई चिरामा विभाजित भएको स्थिति देखिसकेको छ । कुनै पनि हालतमा यसलाई राजनीतिकरण गर्नु मुर्खता हुनेछ । दुवै पक्षबाट ‘मेरा बाउको बारै टक्का’को अवस्था आए के हुने हो ? साथै, बाँकी अवधि कसरी अगाडि बढ्ने हो ठूलो प्रश्न उठेको छ । काठमाडौंवासी चिन्तित देखिन्छ ।