काठमाडौं ।स्वतन्त्र उम्मेदवारी दिएर जितेका विवादास्पद मेयर ‘बालेन’ भनिने बालेन्द्र शाहले कार्यसञ्चालनका लागि बनाएको टिममा तीन वर्ष पुग्न नभ्याउँदै भागबण्डाको विद्रोह सतहमा आएको छ । ३२ वडा रहेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेर जित्ने जनप्रतिनिधि हुन् बालेन ।महानगरपालिकामा नेपाली कांग्रेसका १८ जना, एमालेका १२ जना वडा अध्यक्ष रहेका छन् भने एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक÷एक जना छन् । कामनपामा एक्लो प्रतिनिधि भए पनि मेयर शाहले आफ्नो सचिवालयमा स्वकीय सचिव भुपदेव शाह, शैलेन्द्र झा, स्मित पोख्रेल, धिरज जोशी, सहायक स्वकीय सचिव नवीन भण्डारी, फोटोग्राफर विनय शाक्य, नगरप्रहरी प्रमुख राजुनाथ पाण्डे, सुदीप ढकाल, सुनिल लम्साल, कुमार व्यन्जनकार तथा कांग्रेस र एमालेका आफूअनुकुलका केही वडा अध्यक्षहरूलाई राखेका थिए ।
बालेनको सचिवालयमा रहेका ती व्याक्तिहरूको टिममा कांग्रेस–एमालेका लोभीपापी केही पाँच जना वडा अध्यक्षहरू मिसिएपछि उक्त टिम एउटा गिरोहमा परिणत भएको थियो र आर्थिक कारोबारसँग जोडिएको सम्पूर्ण काम उक्त गिरोहले अनुमोदन गरेपछि कार्यपालिकालगायत जहाँबाट निर्णय गराउनुपर्ने हो, त्यहाँबाट निर्णय गराएर काम गर्न कर्मचारीलाई निर्देशन दिने गरिएको थियो । त्यस्ता कामबापत उठाइएका अतिरिक्त रकममध्येबाट बालेनका वरिपरि रहेका व्यक्तिहरूले आफ्ना श्रीमती, छोराछोरी र नातेदारहरूको नाममा धन सम्पत्ति थुपारेको थाहा भएको छ । उनीहरूले जहाँ–जहाँ सही गर भन्यो त्यहाँ सही गर्न नमान्दा यसअघि नै महानगरका कर्मचारी र उक्त गिरोहबीच विवाद सुरु भएको थियो ।
यसअघि मेयर शाहले महानगरबाहिरै बजेट बनाएर नगरपरिषद्मा प्रस्तुत गर्नेगरेका थिए । यस पटक पनि त्यस्तै गरी बनेको बजेट संशोधन गर्नुपर्ने भएको र त्यसरी संशोधन गर्न कार्यकारी प्रमुख सरोज गुरागाईले नमान्ने सङ्केत पाएपछि मेयर बालेनको निर्देशनमा उनका प्रवक्ता र स्वकीय सचिवले कार्यकारीको कार्यकक्षमा तालाबन्दी गरेका थिए । र उनलाई कार्यालय आउन निषेध गरेपछि नगरपरिषद् बोलाएर आफूखुशी बजेट संशोधन गरेका थिए । उक्त कदमलाई सुरक्षा दिने नगरप्रहरी प्रमुख पाण्डेले कार्यकारी प्रमुख गुरागाईँ झण्डै चार महिनापछि कार्यालय फर्किँदा पनि अवरोध सिर्जना गरेका थिए । यसबीचमा मेयर बालेनले आफ्नो सचिवालय सदस्यसँग नाता जोडिएको व्यक्तिलाई छानबिन गर्न लगाएको छानबिनमा दोषी नदेखिएपछि प्रतिवेदन लुकाइएको घटना कसैबाट छिपेको छैन ।
गत २१ गते कार्यकारी गुरागाईलाई अभद्र व्यवहार गर्ने नगर प्रहरी प्रमुख पाण्डे र मेयर बालेनका स्वकीय सचिव भुपदेव शाहमाथि यथाशीघ्र कारबाही गर्न माग गर्दै स्थानीय तह कर्मचारी संघ संगठनले बिहीबार संयुक्त वक्तव्य निकालेका छन् । महानगरपालिकाले ३५ वटा एम्बुलेन्स खरिद गर्न गाडी किन्दा कार्यपालिकाले गरेको निर्णयविपरीत स्कर्पियो किन्न लगाएर भ्रष्टाचार गरेको भनी मेयर शाह र उनका पीए शाहविरुद्ध अख्तियारमा किटानीसाथ उजुरी परेको छ र उक्त उजुरीपछि मेयर शाह र उनका पीए दुवै जना महानगरमा हाजिर गर्न नमिल्ने भनी बालेको आईटी विभाग समेत सम्हाल्दै आएका प्रवक्ता नवीन मानन्धरले कटाक्ष गर्दै आएका छन् ।
स्वतन्त्ररूपमा मेयर जितेपछि शाहले वडा अध्यक्षहरूलाई सजिलै नभेट्ने रणनीति बनाएर आफ्नो चाकडीमा आउन प्रतिस्पर्धा गराएका थिए र त्यही वेला उनीसँग नजिकिन कांग्रेस र एमालेका केही वडा अध्यक्ष आफ्नो पार्टी जिम्मेवारी र नैतिकता बिर्सिएर उनको चाकडीमा लिप्त हुनपुगेका थिए । उनीहरूमध्ये आफू अनुकूल हुने लोभीपापी छानेर मेयर शाहले दुई ठूला पार्टीका प्रतिनिधिहरूबीच नै फुट ल्याएका थिए । त्यसको प्रमाण २२ नम्बर वडामा देखिएको थियो । एमाले वडा अध्यक्ष चिनियालाल महर्जनले बालेनको अदृश्य टिमले गरेको निर्णय मानेनन् र ईन्द्रचोकदेखि न्युरोड गेटसम्म फुटपाथ विस्तारको योजना सफल हुन दिएनन् तर उनलाई खुइल्याउन २४ नम्बरका कांग्रेस वडा अध्यक्ष विनोद राजभण्डारीले बालेनका पछि लागेर कुनै कसर गर्न बाँकी राखेनन् । गिरोहले बनाएको योजना औपचारिक निर्णय गराउन कांग्रेस–एमालेका बहुसंख्यक वा अध्यक्षलाई असन्तुष्ट हुँदाहुँदै पनि विवश बनाउने गरिएको थियो । अहिले काठमाडौं महानगरभित्रका पार्टी, पौवा, सत्तल, फल्चा, धारो, कुवा, इनार, राजकुलो सबै अनधिकृतरूपमा कब्जा गरिएको अवस्था छ र त्यसबाट हुने अतिरिक्त आम्दानी तिनै टाठाबाठा वडा अध्यक्षहरूले सचिवसँग मिलेर झ्वाम पार्ने गरेका छन् । जस्तो कि कामनपा १६ मा रहेको साउने पार्टीको अहिले नामोनिशान भेटिँदैन । कामनपा १७ को रजतबस्तीमा रहेको सुरेश रजकको घरअगाडिको ढुङ्गेधारो र बाल विकास स्कुलअगाडिको ढुङ्गेधाराको नामोनिशाना भेटिँदैन । गणवहालमा रहेको खिचापोखरी दन्त्यकथाजस्तो भएको छ ।
महानगरभित्रको राजकुलो खाली गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानगरपालिकालाई पठाएको अति गोप्य पत्र तिनै टाठाबाठा वडा अध्यक्षहरूले दम्पत बनाएका छन् र राजकुलो अतिक्रमण गरेर बसेका व्यक्तिहरूसँग व्यक्तिगत फाइदा उठाएका छन् । स्कुल, कलेज, स्वास्थ्य संस्था, अस्पताल, फार्मेसी दर्ता, सञ्चालन र नवीकरण सजिलै हुने अवस्था रहेको छैन । अनेक किसिमका अनुदानमा टाउको काटिने गरेको छ भने सडकपेटी निर्माणमा ६० प्रतिशतसम्म असुली हुनेगरेको छ । पहिले हालिएको ब्लक निकालेर कलर इँटा हाल्दा खन्नु नपर्ने, माटो फाल्नु नपर्ने, बालुवा हाल्नु नपर्ने, इँटा हाल्नु नपर्ने, एकै पटक सिमेन्ट हालेर कलर इँटा हाल्दा ७५ प्रतिशतभन्दा बढी खर्च जोगिने एक पूर्ववडा अध्यक्ष बताउँछन् ।
निकालेको ब्लक बिक्री गरेको आम्दानी समेत गडबडी गरिएको छ । कलर इँटाको कारखाना बालेनको एक सल्लाहकारको गृहजिल्ला रूपन्देहीमा रहेको छ र माथिमाथि नै कुरा मिलाएपछि प्रक्रिया मिलाएर इँटा झिकाइएको छ । माओवादी कथित जनयुद्ध ताका अभियोग पनि उसैको, बहस पनि उसैको, फेसला पनि उसैको, फैसला कार्यान्वयन पनि उसैको हुनेगरेको थियो । अहिले काठमाडौं महानगरमा पनि एउटा गिरोहले त्यस्तै गरेको छ । उसले मुहान फर्काएर धन्दा गरेको छ । पशुपतिमा रहेको विद्युतीय शवदाह गृहबाट सुरु भएर बानेश्वर हुँदै बगेको राजकुलोको अहिले कतै नामोनिशाना भेटिँदैन । सोह्रखुट्टेतिरबाट गएर इन्द्रायणी मन्दिरनेर विष्णुमतिमा मिसिएको राजकुलो भएको ठाउँमा विशाल निजी संरचना बनेका छन् । यी प्रतिनिधिमूलक दृष्टान्त मात्र हुन् ।
महानगरपालिकाभित्रका कतैका पनि राजकुलो अस्तित्वमा भेटिँदैन । यसका अलावा मठमन्दिर, सार्वजनिक जमीन, चौतारो र विश्रामस्थल पनि अतिक्रमणको सिकार भएका छन् । उपभोक्ताको सहभागितामा गल्ली, गल्छेडोमा इँटा ब्लक छाप्ने कार्यमा जनतासँग दामाशाहीमा उठाइएका रकम बालेनको गिरोहमा रहेको टाठाबाठा वडा अध्यक्षहरूले उपभोक्ता समितिकै नाम बेचेर खाइदिएको समेत पाइएको छ भने २५ वडाले नघल क्षेत्रमा छापेको ढुङ्गा निर्माणसम्पन्न भएको एक महिना नबित्दै खाल्टाखुल्डीमा परिणत भएको छ । १७ र २५ वडाको बीचमा रहेको कन्या मन्दिरमा भएको एउटा पाशविक काण्डलाई त्यही गिरोहले भित्रभित्रै दबाएर राखेको कुरा पनि ‘ओपन सेक्रेट’ नै छ । बालेनको गिरोहमा रहेका कांग्रेस एमालेका पाँच जना वडा अध्यक्षहरूको नाम पनि ओपन सेक्रेटजस्तै छ । त्यसमा पनि एमालेका ५ नं वडाका अध्यक्ष वीरेन्द्र महर्जन अझै बालेनको पक्षमा रहेका छन् भने कांग्रेसका ४ वडा अध्यक्षमध्ये प्रवक्ता नवीन मानन्धर मात्र खुलेर विरोधमा आएका छन् ।
महानगरपालिका सञ्चालनमा त्यही गिरोहको दबदबा चल्दै आएको थियो र कर्मचारी प्रशासनलाई त्यसको मोहोरा बनाइएको थियो । त्यसबाट निस्केको कमाइ गिरोहकै तजबिजमा चलेको थियो । अहिले त्यसको भागबण्डा नमिलेर विवाद भएको छ र त्यो सतहमा आएको छ । कार्यकारी प्रमुखको फिर्ती सवारीको नाममा तर त्यहाँ भएका बदमासीबारे दुवै पक्षलाई एक–अर्काको राम्ररी थाहा छ । एम्बुलेन्स खरिदको भ्रष्टाचार एउटा पक्षले अख्तियार पु¥यायो, अर्को पक्षले अर्को मुद्दा उठाउला । तर चेपेर राखिएको कर्मचारी संगठितरूपमा जुर्मुराएकाले दुवै पक्षको भण्डाफोर अब टाढाको विषय रहेन । किनकि कसले कति लुटेको छ, त्यो अब लुकाएर लुक्नसक्ने अवस्था देखिँदैन ।
२५ अर्ब रुपैयाँको बजेट रहेको महानगरपालिकामा अहिले आठ अर्बभन्दा बढीका ठेक्कापट्टा चलेका छन् । त्यसमा पनि स्रोतमै भागबण्डाको सहमति हुनेगरेका छन् र गिरोहका सदस्यले भागशान्ति जय नेपाल गर्नेगरेका छन् । मेयर शाह आएपछि बनेको यो गिरोहका सदस्यहरूको पहिले र अहिलेको सम्पत्ति छानबिन गर्ने हो भने सबै देखिने अवस्था छ । उक्त गिरोहले ठेक्कापट्टा, खरिद सहमति सिफारिस, मर्मत सम्भार, नक्सापास, केहीमा पनि छोडेको छैन । फोहोर व्यवस्थापनसम्बन्धी ‘नेक्वेस्ट’ काण्ड, टिपर काण्ड, ‘स्मार्टबोर्ड’ काण्ड, टुकुचा काण्ड, नक्सापास काण्डजस्ता काण्डैकाण्ड गरेको छ । मेयर बालेनले बनाएको गिरोहमा अहिले त्यही काण्डको अवैध धनको भागबण्डाको विवाद भएपछि उपमेयर सुनिता डंगोलले समयको सदुपयोग गर्ने कोसिस गरेकी छिन् र गिरोहबाहिरका कांग्रेस र एमालेका वडा अध्यक्षहरूलाई समेटेर कर्मचारीहरूको समर्थनमा महानगरको नीतिगत नेतृत्व लिएकी छिन् ।
उपनिर्वाचनमा १६ नम्बर वडामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार विजयी भएपछि मेयर बालेनले रास्वपा कार्ड खेल्ने आशंकामा दिनभरि मेयर सचिवालयमा अड्डा जमाएर धर्ना बस्ने गिरोहमा रहेका वडा अध्यक्षहरू उपमेयर डंगोलको नीतिगत नेतृत्वबाट झन् त्रसित बन्न पुगेका छन् । मेयरको टिमबाट पनि फालिएको अवस्थामा ‘फेस सेभिङ’को उपाय खोज्न थालेका छन् । मेयरले बनाएको गिरोह फुटेपछि एकले अर्काको पोल खोलाखोल गर्ने क्रममा कुन रूप लिने हो त्योँचाहि हेर्न बाँकी छ ।