काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा सत्तासाझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ‘पेण्डुलम’ बनाउने प्रयास गरेका छन् । गत चैत २५ गते महाप्रसाद अधिकारीले अनिवार्य अवकाश पाउनुभन्दा एक महिनाअघि नै सिफारिस हुनुपर्ने नेपाल राष्ट्र बैंकको गभर्नर अवकाशको एक महिना बितिसक्दा पनि नियुक्त हुन सकेको छैन ।
अर्थमन्त्री एमालेको भागमा परेकाले प्रधानमन्त्री ओलीले राष्ट्र बैंकको गभर्नर आफ्नै कोटामा रहने आकलन गरेर तयारी गरिरहेको बेला एक्कासी काँग्रेस सभापति देउवाले गभर्नरमा आफ्नो पार्टीको दाबी प्रस्तुत गरेपछि सिंगो गभर्नर नियुक्तिको प्रक्रिया नै भद्रगोल हुन पुगेको छ । राजनीतिका कुटिल खेलाडी मानिएका प्रधानमन्त्री ओलीले सत्ता साझेदार काँग्रेसका मौन खेलाडी देउवालाई यसबीचमा ‘पेन्डुलम’ बनाइदिएका छन् ।
यसरी सभापति देउवा राजनीतिकरूपमा ‘पेन्डुलम’ बन्नुपरेको यो नै पहिलो घटना हुन पुगेको छ । प्रधानमन्त्री ओलीले यसअघि नै काँग्रेसको कोटामा परेको राजनीतिक नियुक्तिमा अनावश्यक ढिलासुस्ती र झमेला खडा गर्नेगरेका थिए । त्यसको एउटा उदाहरण काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया बनेको थियो र बडो मुस्किलले सहमतिअनुसार अच्युत वाग्ले उपकुलपति नियुक्त भएका थिए ।
उनलाई नियुक्त नगर्न प्रधानमन्त्री ओलीले सिफारिस समितिमार्फत निकै खेलेका थिए । तर एमालेको कोटामा परेको नेपाल विश्वविद्यालयको उपकुलपतिका डा अर्जुन कार्की लुसुक्क नियुक्त भए । जबकि काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्ने कमिटीमा सदस्य रहँदा झमेला गरेर नाम सिफारिस गर्न नमान्ने कार्कीलाई कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले पुरस्कृत गरेर नियुक्त गरेका थिए । यो एउटा उदाहरण मात्र भए पनि अहिले यसलाई प्रवृत्तिकै रूपमा अथ्र्याइन थालेको छ । गभर्नर नियुक्तिका विषयमा भएका चालबाजी, जालझेल र तिक्डमबाजीले प्रधानमन्त्री ओलीको नियत सफा नरहेको र आफ्नै अनुकूलको पात्रलाई गभर्नर नियुक्त गर्न चाहेको संकेत गरेको छ ।
गभर्नर नियुक्तिको प्रक्रिया सुरु हुनुअघि ६५ वर्षको उमेर हद नलाग्ने गरी कार्यविधि संशोधन गरिएको थियो र उक्त कार्यविधि संशोधनको निर्णयविरुद्ध अदालतमा मुद्दा परिएको थियो । सत्ताको अनुकुल नरहेको मुद्दा अदालतमा पालो पर्ने समय नआउने संयोगले केही समय लम्बिएर ६५ वर्षे उमेर हद लाग्ने आदेश आएपछि काँग्रेसको तर्फबाट चर्चामा आएका दुई नाम रवीन्द्र प्रसाद पाण्डे र राजेन्द्र किशोर क्षेत्री बाहिरिएका थिए । त्यसअघि नै पेश्की चढाएर बसेको भनिएका ज्ञानेन्द्र ढुंगाना एकजना छट्टु व्यापारीको चालबाजीको शिकार भएका थिए । देउवाको सूचीमा नरहे पनि सूचीमा पारिदिन्छु भनेर राजनीतिक बिचौलियाले उनलाई झक¥याएको सहरमा अझै चर्चा सेलाएको छैन । त्यसपछि काँग्रेस सभापति देउवा प्रधानमन्त्री ओलीबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति बनेको र वैशाख २५ गते नियुक्त हुने नियोजित हल्ला चलाइयो ।
तर कामु गभर्नर निलम ढुंगानाले प्रकाश कुमार श्रेष्ठसँग भट्टको राजीनामा स्वीकृत गर्न नमानेछि उनी पनि गभर्नर बन्ने रेसबाट बाहिरिएका छन् । उनी बाहिरिएपछि सभापति देउवाले एकपछि अर्को कमजोर कार्ड खेल्दै गत संसदीय निर्वाचनमा चितवन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसको टिकटबाट चुनाव उठेर पराजित भएका उम्मेदवार डा विश्व पौडेलको नाम प्रस्ताव गरेका छन् । उनले गभर्नर सिफारिस गर्न अर्थमन्त्री विष्णु पौडेल समक्ष राजीनामा गरेका छन् । उनी प्राडा गोविन्द पोख्रेलजस्तै नेपाली काँग्रेसका नवआगन्त्तुक सुधारिएका नेता हुन् ।
जनवादी प्रशिक्षणबाट खारिएका पौडेल प्रधानमन्त्री ओलीको साझा उम्मेदवार बन्न सक्ने विश्वास गरिएको छ । उनको राजीनामासँगै गभर्नर सिफारिस समिति लगभग रित्तो भएको छ । यसअघि पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि नियुक्त गरिएका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको नियुक्तिविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । गभर्नर सिफारिस समिति पुनर्गठन गर्ने कानुनी व्यवस्था नभएकाले परिस्थिति झन् जटिल बन्दै गएको छ । सत्ताका तीन ढोका बन्द गरेर एउटा खुला राखिएका प्रधानमन्त्री ओलीलाई सत्ताबाट बहिर्गमन गराउन तीनतिरबाट दिनगन्ती सुरु गरिएपछि प्रधानमन्त्री ओली झस्किएका छन् ।
यही कारणले गभर्नर नियुक्तिको प्रक्रियामा काँग्रेस सभापति देउवालाई यसरी हल्लाउन थालेको हुन सक्ने आकलन गर्न थालिएको छ । पछिल्लो पटक सभापति देउवाकी पत्नी समेत रहेकी परराष्ट्रमन्त्री आरजु राणाले दोहोरो चाल चल्न थालेको प्रधानमन्त्री ओलीलाई शंका लाग्न थालेको छ । थाइल्यान्ड भ्रमणपछि परराष्ट्रमन्त्री राणाभन्दा व्यापारी पवन गोल्यानमाथि विश्वास जाग्न थालेको बुझिएको छ । त्यसअघि परराष्ट्रमन्त्री राणले १२ दिन दिल्लीमा बिताएर फर्किँदा समेत विश्वासमा परेका प्रधानमन्त्री ओली बैंकक यात्रापछि अर्कोतर्फ मोडिएको बुझिएको छ । सत्ता साझेदार काँग्रेसको दोस्रो तहबाट सुरु भएको असन्तृष्टि र सत्ताभित्रको छिर्के हान्ने प्रवृत्तिले प्रधानमन्त्री ओली जेपर्छ त्यही गर्ने मुडमा पुगेर गभर्नर नियुक्तिमा भुलभुलैया खडा गर्न लागेको बुझिएको छ ।