न्युयोर्क । न्युयोर्कमा चार जना नेपाली युवा कलाकारलाई सम्मान गरिएको छ । स्याङ्जा समाज अमेरिका, दर्शन ठकुरी समाज न्युयोर्क र नेपाली भान्साघरको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो । नेपाल टेलिभिजनका हाँस्य कलाकार सागर लम्साल ‘बले’, कुमार कटेल ‘जिग्री’, डान्सर राहुल शाह र दोहोरी गायक रामजी खाँणलाई आयोजक समितिकातर्फबाट सम्मान गएिको हो । त्यस अवसरमा नेपाल अमेरिका कलाकार संघलाई पनि सम्मान गरियो । स्याङ्जा सहयोग अन्तर्राष्ट्रिय समितिका अध्यक्ष एवं कार्यक्रम संयोजक वीरेन्द्र जङ्ग केसीले स्वागत मन्तव्य राख्दै चार जना फरक विधाका कलाकारलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले कलाकार कलाकारमात्रै नभएर देशका राजदूत हुन् भन्दै सिंगो देशको प्रतिनिधित्व गर्ने कलाकारलाई सम्मान गर्नुपर्ने बताउनुभयो । दर्शन ठकुरी समाजका भूपू अध्यक्ष मिलन शाहीले देशका गहना कलाकारलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । कार्यक्रमका संयोजक दर्शन ठकुरी समाजका अध्यक्ष तथा नेपाली भान्सा घरका सञ्चालक विमला हमाल श्रेष्ठले कलाकारको सम्मान गर्न पाउँदा आफू अत्यन्तै खुसी भएको बताउँदै कलाकार रातारात बन्दैनन् धेरै मेहनत र तपस्या गर्नुपर्छ भन्नुभयो । स्याङ्जा समाज अमेरिकाका अध्यक्ष दिनेश भण्डारीले पनि कलाकारलाई सम्मान गर्नु भएको थियो । कार्यक्रममा सम्मानित कलाकारहरु सागर लम्साल ‘बले’ र कुमार कटेल‘जिग्री’ले हाँस्यव्यङ्य प्रस्तुत गर्नुभएको थियो भने गायक रामजी खाँणले गीत प्रस्तुत गर्नुभएको थियो । कार्यव्रmममा गायिक विमलकुमारी दुरा, सपनाश्री, विमल डाँगी, संगीता थापामगर, निशा सुनार र मधुर गिरीले गीत प्रस्तुत गर्नुभएको थियो भने कलाकार महादेव त्रिपाठी र दिनेश सुनाले आफ्नो प्रस्तुत देखाउनुभएको थियो । कार्यक्रमको सुरुमा पञ्चैबाजा बजाउर कलाकारको स्वागत गरिएको थियो । कलाकारको परिचयसाथै कार्यक्रमको सञ्चालन मधुर गिरीले गर्नुभएको थियो ।