काठमाडौँ । नेपाल र साउदी अरबबीच सामान्य र सीपयुक्त श्रमिक लैजाने दुईवटा सम्झौतामा सहमति भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच जेनेभामा भएको द्विपक्षीय भेटवार्ता र छलफलमा नेपाली श्रमिक लैजाने सो महत्वपूर्ण विषयमा सहमति भएको हो ।
मन्त्री भण्डारीले घरेलु श्रमिकको सम्झौतालाई थाँती राखेर सामान्य र सीपयुक्त श्रमिकको सीप प्रमाणीकरण कार्यक्रम गरी तत्काल दुईवटा सम्झौता गर्न साउदी अरब तयार भएको बताए । नेपालले साउदीसँगको सामान्य श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा सहमति जनाइसकेको छ । ‘साउदीसँग सामान्य श्रमिक लैजाने श्रम सम्झौतामा यसअघि नै सहमति भइसकेको छ । यसमा हस्ताक्षर हुन मात्रै बाँकी छ,’ उनले भने, ‘साउदीले घरेलु श्रमिकसम्बन्धी सम्झौता भएपछि मात्रै सामान्य सम्झौतामा हस्ताक्षर हुन सक्ने अडान लिएको थियो । अहिलेको बैठकले सहमति भइसकेको सम्झौता अगाडि बढाउने र घरेलु श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा थप गृहकार्य गर्ने टुङ्गो लगाएको छ ।’
श्रममन्त्री भण्डारीले दुई देशबीच श्रम सम्झौता भइसकेपछि मात्रै घरेलु श्रमिकको सम्झौता गर्नुपर्ने नेपालको संसदीय समितिको निर्देशन रहेको जानकारी साउदी पक्षलाई गराउँदै यसका लागि पाइलट परियोजना आवश्यक पर्ने जानकारी समेत दिइएको थियो ।