काठमाडौं । प्रधानमन्त्री रहँदाका चर्चित र विवादास्पद भनाइका कारण सदैव चर्चामा रहने नेता केपी शर्मा ओलीले फेरि एकपटक जनसङ्ख्या र विकासको सम्बन्धबारे गहिरो दृष्टिकोण सार्वजनिक गरेका छन्। ओलीले जनसङ्ख्यालाई देशको मेरुदण्ड मानेर आफूले जनसंख्यालाई राज्यको अस्तित्वको पहिलो आधारका रूपमा लिएको धारणा राखे। उनको तर्क स्पष्ट छ — "देशको पहिलो शर्त जनसङ्ख्या हो, भूगोल दोस्रो कुरा हो। इजरायलले भूगोल नभए पनि देश बनायो, किनकि बनाउने जनसङ्ख्या थियो।" ओलीका भनाइहरू हल्का हास्य, हल्का गम्भीरता र धेरै गहिरो सन्देशले भरिएका छन्। उनी भन्छन्, "पहिले रेडियो खोल्नेबित्तिकै 'सन्तानले डाँडाकाँडा ढाकून् नभन्' भन्ने सुनिन्थ्यो, अहिले भने सन्तान नभएको समाज बन्ने दिशामा छौँ।" ओलीले अहिलेको युवा पुस्तालाई विवाह र सन्तानप्रति उदासीनता देखाउँदै व्यंग्य गरे: “४० कटेपछि रमाउला भन्ने गीत गाइरहेका छन्, तर प्रजनन क्षमता भने ४० कट्नुअघि नै हराइसकेको हुन्छ।” उनको नजरमा जनसङ्ख्या संकट केवल संख्या होइन, राष्ट्रको भविष्यसँग जोडिएको चेतावनी हो। उनी भन्छन्, “संसारभर मान्छे मार्ने हतियार बनाउनेहरू जनसङ्ख्याको चिन्ता गरेर गोष्ठी गर्छन्। त्योभन्दा ठूलो विरोधाभास के हुन्छ?” ओलीको टिप्पणी समाजका बास्तविकता, सामाजिक मानसिकता र प्रगतिको बाटोमा देखिएको भट्कावप्रति आलोचनात्मक मात्रै होइन, आत्ममूल्यांकनको अपिल पनि हो।अन्त्यमा उनले भनेझैँ, "हामी देश बनाउने कुरा गर्छौँ, तर आफू मान्छे बन्न सकेनौँ भने देश कसरी बन्छ?" यो टिप्पणी हाँसोसँगै सोच दिने खालको छ — जहाँ ओली शैलीमा बोलेका छन्, तर विषय राष्ट्रिय अस्तित्व र भविष्यसँग गम्भीर रूपमा जोडिएको छ।