अछाम । प्रमुख प्रशासकीय अधिकृतमा सामान्य प्रशासन मन्त्रालयले जिल्लाको मेल्लेख गाउँपालिकामा सङ्गीता ताम्राकारलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेको छ । उनले अछामको स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा पहिलो पटक महिला जिम्मेवारी पाएकी छन् ।
मन्त्रालयले ताम्राकारलाई वरिष्ठतम कर्मचारीको आधारमा आर्थिक जिम्मेवारीसहित स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ८४ को उपदफा (४) अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।
अर्को व्यवस्था नभएसम्मको लागि मन्त्रालयले उनलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरेको हो । प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसँगै पालिकाको विकास र समृद्धिमा सबै पक्षसँगको समन्वय र सहकार्यमा अघि बढ्ने ताम्राकारको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा महिला प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउनेमा ताम्राकार सम्भतः पहिलो महिला हुन् । प्रशासनतर्फको स्थायी भएपछि ताम्राकार दार्चुलाको मार्मा गाउँपालिकाबाट सरुवा भएर पहिलो पटक २०७९ सालबाट मेल्लेखमा सेवा गर्दै आएकी छन् ।