काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘भन्सार विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमा विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मत स्वीकृत गरेको छ । बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्ति विधेयक र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक प्रस्तुत गरेका थिए ।
क्रमशः औद्योगिक सम्पत्तिसम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उद्योगमन्त्री भण्डारीले औद्योगिक सम्पत्तिसम्बन्धी कानुन प्रर्याप्त नभएकाले नेपाली वस्तुको इनोभेटिभ, स्टार्टप र नवीन प्रवर्द्धनलाई ध्यान दिएर समयसापेक्ष कानुन बनाउनका लागि विधेयक ल्याइएको उनले बताए । विधेयकलाई समयसापेक्ष र मौलिकताको जगेर्ना उजागर, खोज र आविष्कार समयसापेक्षा बनाएर समृद्ध बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरे ।
“हाम्रा वस्तुको अरूले लेबलिङ, ब्राण्डिङ र व्यवसायीकरण गर्नुपर्ने अवस्था छ । त्यसैले इनोभेटिभ र अनुसन्धानलाई ध्यान दिएर विधेयक ल्याइएको हो”, उनले भने ।
विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरू वासुदेव घिमिरे, मैना कार्की, दामोदर पौडेल वैरागी, प्रतिमा गौतम, भगवती चौधरी, ज्वालाकुमारी साह, किरणकुमार साह, हेमराज राई, रणेन्द्र बराइली, विद्या भट्टराई, बिमला सुवेदी, दुर्गा राई, सराज अहमद फारुकी, नारायणी शर्मा, उर्मिला माझी, अम्बरबहादुर रायमाझी, प्रेम सुवाल र रमा कोइराला पौडेल सहभागी थिए ।
यस्तै भन्सार विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले राष्ट्रियसभाबाट संशोधनसहित पारित भएर आएको विधेयकलाई पारित गरिनुपर्नेमा जोड दिए । उनले भने, “राष्ट्रियसभाबाट पारित भएको विधेयकमा सारभूत रूपमा भिन्नता छैन । भाषिक सम्पादनलगायत केही विषय मात्रै भिन्नता रहेका छन् । राष्ट्रियसभाबाट गरिएको संशोधन उचित रहेकाले यसलाई पारित गरेर लैजादा उपयुक्त हुन्छ ।”
उक्त विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरू किरणकुमार साह, नारायणी शर्मा, नागिना यादव, भगवती चौधरी र ज्वालाकुमारी साह सहभागी भए । बैठकमा सभामुख देवराज घिमिरेले विषयगत समितिमा सदस्य हेरफेरसम्बन्धी सूचना पढेर सुनाएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २७ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।