काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आयोजना गरेको नाडा अटो सो २०२५ मा दर्शकहरुको उल्लेखनीय सहभागिता देखिएको छ । नाडाका अनुसार तीन दिनमै ७८ हजार पाँच सय १३ अवलोकनकर्ता सहभागी भइसकेका छन् । यो तथ्याङ्कले नेपाली जनतामा अटो सोप्रतिको बढ्दो उत्साह, विश्वास र समर्थनलाई स्पष्टरूपमा प्रकट गरेको नाडाको दाबी छ ।
नाडाका अध्यक्ष करण चौधरीले यो उपलब्धिलाई एउटा अन्त्य नभई नयाँ सुरुवातको रूपमा लिएको बताए । ‘यसले हाम्रो अपेक्षा अझ उचालिएको छ र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ’, उनले भने, ‘यस ऐतिहासिक सफलतामा योगदान पुर्याएका सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्र्मी र सबै अवलोकनकर्ताहरूलाई नाडाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं ।’
नाडा अटो सो अब केवल प्रदर्शनी मात्र नभएर नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव भएको नाडाले जनाएको छ । नाडा अटो सो मंगलबारदेखि भृकुटीमण्डपमा जारी छ ।