काठमाडौ । यातयात व्यवसायीहरुले देशभर अनिश्चितकालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले एक विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेको हुन् ।
भदौ २३ गते ‘जेन–जी’ समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारको दमनका कारण १९ जना विद्यार्थीको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने उनले जानकारी दिएका छन् । महासंघले मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
साथै, सरकारसँग घाइतेहरूको उपचारको व्यवस्था मिलाउन पनि माग गरिएको छ । महासंघले आफ्ना सबै सदस्य संघ, समिति, कम्पनी तथा प्रालिहरूलाई घाइतेहरूको उपचारका लागि सक्दो सहयोग गर्न अनुरोध गरेको छ । दुःखद् घटनाका कारण काठमाडौं उपत्यकालगायत देशभरको जनजीवन प्रभावित भएको र विभिन्न स्थानमा कफ्र्यु आदेश जारी भएकाले सार्वजनिक यातायात तथा मालवाहक सवारी साधन सञ्चालन गर्न असहज परिस्थिति सिर्जना भएको महासंघले जनाएको छ ।
नेपाल सरकारबाट उचित शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि देशभर यात्रुवाहक र मालवाहक सार्वजनिक यातायातका सवारी साधनहरू सञ्चालन नगर्न र नगराउन महासंघले आफ्ना सदस्यहरूलाई अनुरोध गरेको छ ।