महेन्द्रनगर । ‘जेन–जी’ प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा सरकारी, निजी र पार्टी कार्यालय गरी दुई सय ३४ भौतिक संरचनामा क्षति पुगेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रदर्शनका क्रममा कैलाली र कञ्चनपुरमा बढी क्षति भएको छ ।
सरकारी कार्यालयतर्फ कैलालीमा दुई, कञ्चनपुरमा एक, बझाङमा एक र दार्चुलामा एक गरी पाँचवटा सरकारी संरचना पूर्णरूपले क्षतिग्रस्त भएका छन् । प्रदेशभर पाँच सय ५१ वटा सरकारी संरचनामा आशिंक क्षति पुगेको प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए । आशिंक क्षति हुने सरकारी भवनमा पनि सबैभन्दा बढी कैलालीमा एक सय तीन, कञ्चनपुरमा २४, डडेल्धुरामा नौ, डोटीमा आठ, अछाममा चार र दार्चुलामा तीनवटा छन् । यसैगरी, व्यापारिक र निजीतर्फ ३८ घरमा क्षति पुगेकामा कञ्चनपुरमा सबैभन्दा बढी २३ र कैलालीमा १५ वटा रहेका छन् ।
प्रदेशमा पाँच सय ७३ दुईपाङ्ग्रे र एक सय ३५ चारपाङ्ग्रे गरी ७०८ सरकारी सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ । निजीतर्फ तीनवटा सवारीसाधनमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले क्षतिबारे ठाडो निवदेन आएपनि जाहेरी नआएको बताए । उनले जोहरी आए सङ्कलन गरिने जानकारी दिए । यस्तै, कञ्चनपुर कारागारबाट भागेका चार सय ७८ जनामध्ये ९८ जना फरार र खोजी कार्य जारी रहेको उनले बताए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले सम्पत्ति क्षतिका हकमा कैलालीमा पनि जाहेरी नपरेको बताए । उनका अनुसार प्रदर्शनको मौका पारेर भागेका कैदीहरूमध्ये धेरै जना फर्केको र नफर्केकाहरूको खोजी भइरहेको छ ।
‘कारागारबाट भागेकामध्ये चार सय छ जना फर्केर आएका छन् । अझै दुई सयभन्दा बढी कैदी फर्केका छैनन् । उनीहरूको खोजी कार्य तीव्ररूपमा भइरहेको छ’, प्रवक्ता सिंहले भने, ‘हामीले प्रदर्शनका क्रममा काठमाडौंमा लुटिएका तीन थान हतियार कैलालीबाट बरामद गरी काठमाडौं पठाएको छ ।’ आन्दोलनका क्रममा सुदूरपश्चिममा प्रदेशसभा भवनदेखि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वगृहमन्त्री रमेश लेखकलगायत प्रदेशसभा सदस्य, पालिकाका प्रमुख तथा उपप्रमुखका निवास तथा व्यापारिक संरचनामा आगजनी र तोडफोड गरिएको थियो ।