नेपालगन्ज । बाँकेको राप्ती सोनारी २ अगैया बजारमा सोमबार बिहान मोटरसाइकल र यात्रुबाहक बस एक आपसमा ठोक्किँदा दुर्घटनामा परेर बर्दियाका एक जनाको मृत्यु भएको छ ।
कोहलपुरबाट काठमाडौँ जाँदै गरेको भे १३ प ११८३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा प्र ११४५ नम्बरको यात्रुबाहक बस बिहान सवा ७ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।
सो दुर्घटनामा परेर घाइते भएका ४४ वर्षका मोटरसाइकल चालक कृष्ण घर्ती क्षेत्रीलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी जिल्ला कञ्चनपुर पुनर्वास गाउँपालिका वडा नम्बर ९ घर भई हाल जिल्ला बर्दिया गुलरिया नगरपालिका ६ बुद्ध टोल बस्दै आएका हुन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरले अगैयास्थित प्रहरी चौकीमा बस चालक र बसलाई नियन्त्रणमा लिएर राखिएको जनाउँदै मृतकका आफन्तसँग सम्पर्क नभएकाले शवलाई शिक्षण अस्पतालमै राखिएको जनाएको छ ।