धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का पूर्व वडाअध्यक्ष ६५ वर्षीय गुणबहादुर थपलिया र उनका छोरा ४० वर्षीय रामशरण भन्ने केशव थपलिया विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी उद्योगसम्बन्धी जाहेरी दर्ता भएको छ । आरोपित थपलीया बाबु छोरा विरुद्ध जबरजस्ती करणी उद्योग, ज्यानमार्ने उद्योग र अभद्र व्यवहारको जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । आरोपित केशव थपलियाले आरोपितको घर नजिकै ३३ वर्षीया एक महिलालाई जबर्जस्ती करणी उद्योग गरेको र पीडितले गुहार मागेपछि अन्य मानिसको सहयोगमा प्रहरीले उद्धार गरेको थियो । पीडितलाई छोराले जबरजस्ती करणी उद्योग गरेको र बाबु गुण बहादुरले कुटपिट समेत गरि छोरालाई सघाएको पीडित पक्षको भनाई छ । घटनापछि पीडितको धादिङ अस्पतालमा उपचार भए पश्चात जाहेरी दर्ता भएको हो। पीडित पक्षले मंसिर ८ गते राष्ट्रिय महिला आयोगमा न्याय पाउन, अन्यायीलाई कारबाही गर्न र सुरक्षाको व्यवस्था गर्न सघाउन माग गर्दै जाहेरी समेत दर्ता गराएका छन् । गुणबहादुर थपलिया २०७४ को निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष बन्नुभएको थियो।