सुदूरपश्चिम । धनगढीमा मंगलबार आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले लुटिएका हतियार र भागेका कैदीबन्दीका कारण निर्वाचनलाई बिथोलिन नदिने बताएका छन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीका विषयमा धेरै अतिरञ्जित गर्न जरुरी नभएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले जेनजी आन्दोलनको घटनामा लुटिएका ७२७ थान हतियार फिर्ता भइसकेको र चार हजार ५५२ कैदीबन्दी फिर्ता हुन बाँकी रहेको जानकारी दिँए ।
उनले फरार बाँकी कैदीबन्दीलाई पक्राउ गर्न ‘अप्रेसन’ चलाइएको र लुटिएका थप हतियार पनि फिर्ता हुने क्रममा रहेको बताए । उनले विधिको शासन, हस्तक्षेप मुक्त प्रशासनसहित सुशासन कायम गरी तोकिएको समयमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु सरकारको मुख्य उद्देश्य रहेको स्पष्ट पारे ।
लोकतान्त्रिक पद्धतिमा चुनाव अपरिहार्य रहेको उल्लेख गर्दै उनले भने, “सेरकारले वार्ता, संवाद र छलफललाई प्राथमिकता दिएको छ, कसैलाई पनि काखा र पाखा नगरी सबैका कुरा सुनिरहेका छौँ, सबैका भावना समेट्दै चुनावमा होमिसकेका छौँ ।” उनले तोकिएको समयमा निर्वाचनको वातावरण बनाउने काममा प्रदेश सरकारको भूमिका पनि महत्वपूर्ण हुनेमा जोड दिए ।