काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको साधारण सेयरको बिक्री खुल्ला भएको छ । कम्पनीले बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि नौ लाख २४ हजार सात सय ६८ कित्ता सेयरको बिक्री खुल्ला गरेको हो ।
कम्पनीले जारी पुँजी एक अर्ब ९० लाखको १० दशमलव १४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार छ सय कित्ता सेयर सर्वसाधारण समूहमा बिक्री खुल्ला गर्दैछ । सर्वसाधारण समूहमध्येको पहिलो चरणमा ४० प्रतिशत अर्थात् सात लाख ७० हजार छ सय ४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताका लागि बाँडफाँट भइसकेको छ । बाँकी ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार नौ सय ६० कित्तामध्ये वैदेशिक रोजगारमा रहेका, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी रहेको नौ लाख २४ हजार सात सय ६८ कित्ता आम सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको हो ।
बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण भएकाले सर्वसाधारणलाई प्रतिकित्ता मूल्य आठ सय २० रुपैयाँ ८० पैसा पर्नेछ । न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने भएकाले आईपीओ भर्न कम्तिमा ४१ हजार ४० रुपैयाँ चाहिन्छ । अधिकतम २० हजार कित्तासम्म आवेदन भर्न सकिने छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य यही पुस ७ गते मंगलबारबाट सुरु भई छिटोमा आगामी शुक्रबार र ढिलोमा यही पुस २१ सम्म कायम रहने छ ।