दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर–८ फेदीमा रहेको जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थामा साढे १४ लाख रुपैयाँ हिनामिना छ ।
संस्थाको व्यवस्थापक यामबहादुर खड्काले सहकारीको १४ लाख ५६ हजार छ सय ६० रुपैयाँ बचत हिनामिना गरेका हुन् । उनले उक्त रकम हिनामिना गरेको स्वीकार गरी तिर्ने बताएका छन् । संस्थाले सहकारीको रकम हिनामिना गर्ने व्यवस्थापक खड्कालाई कारबाही गरी असुल गर्ने जनाएको छ । गत पुस १५ गते २८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको संस्थाको हालसम्मको कुल दायित्व १२ करोड ६० लाख हाराहारीमा रहेकोे छ । उक्त साधारणसभाको वार्षिक प्रतिवेदनमा १४ लाख ५६ हजार छ सय ६० रुपैयाँलाई कर्मचारीबाट पाउनुपर्ने हिसाबमा बेरुजु रकम राखिएपछि सदस्यहरूले प्रश्न उठाएका थिए । संस्थाका निवर्तमान अध्यक्ष डम्बर खड्काले सहकारीमा देखिएको समस्यालाई तत्काल समाधान गरेर संस्थालाई पारदर्शी ढङ्गले सञ्चालन गरिने बताए । खड्काले यसअघि चार खातामार्फत आर्थिक कारोबार गर्दै आएको संस्थालाई सफ्टवेयर सिस्टममा लगिएको र सफ्टवेयरले १४ लाख ५६ हजार छ सय ६० रुपैयाँलाई असुल गर्नुपर्ने तथा पाउनुपर्ने हिसाबमा राखेपछि हिनामिना भएको तथ्य खुलेको जानकारी दिए । व्यवस्थाप खड्काले नमिलेको हिसाब तथा उक्त रकम तिर्ने एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
तीन दिनभित्र समस्या समाधान गर्दै प्रतिवेदन पठाउन वडाको निर्देशन
वैतेशर गाउँपालिका वडा नम्बर–८ ले संस्थामा देखिएको समस्या तीन दिनभित्र समाधान गरेर वडालाई प्रतिवेदनसहितको जानकारी गराउन निर्देशन दिएको छ । आइतबार वडाले संस्थालाई पत्र काट्दै संस्थाको आर्थिक वर्ष २०८१/०८२ को लेखा परिक्षण प्रतिवेदनको अनुसूची ११ धरौटी तथा पाउनुपर्ने हिसाब आव २०८२ असार मसान्त को विवरणमा पाउनुपर्ने हिसाब (कर्मचारीबाट) बुँदामा स्पष्ट नभएको भन्ने सदस्यहरूले व्यापक गुनासो गरिरहेकाले पाउनुपर्ने हिसाब कसको दायित्वमा रहेको हो ? स्पष्ट र जिम्मेवारी खुल्ने गरि प्रतिवेदनसहित तीन दिनभित्र वडा कार्यालयलाई जानकारी गराउन भनेको छ ।