दोलखा । पछिल्लो एक दशकको अवधिमा तीनवटा निर्वाचन सम्पन्न भएर चौथोे पटक प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । निर्वाचन आउन करिब छ साता मात्रै बाकी छ । यतिबेला सिङ्गो जिल्लाका राजनीतिक दल उम्मेदवार घोषणा गर्न र टिकट बाँढ्ने दौडधुपमा छन् । तर उनीहरू कसैको आँखामा लामोसाँघु जिरी सडकखण्डमा पर्ने तामाकोशी नदीमा अलपत्र परेको पुल पर्न सकेको छैन ।
दोलखा–रामेछाप तथा पूर्वका अधिकांश जिल्ला जोड्ने तामाकोशी नदीको बेवारिसे पुलले सबैलाई गिज्याइरहेको छ । जिल्लाका दर्जनौँ पालिका जोड्ने उक्त पुल ठेकेदारले अलपत्र पारेको झण्डै एक दशक बित्न लागेको छ । निर्माण कम्पनी निलगिरी–नेसन जेभीले २०७३ भदौ २३ मा ठेक्का सम्झौता गरेर दुई वर्षभित्र आर्च ब्रीज निर्माण सक्ने सहमति गरेको थियो । तर कम्पनीले हालसम्म करिब ४५/५० प्रतिशत भौतिक प्रगति गरेपनि त्यस पछिको निर्माण प्रगति शून्य रहेको छ । नयाँ पुल बन्न नसक्दा पुरानो जीर्ण पुलमार्फत हाल सवारी साधानको अवातजावत भइरहेको छ । जिल्लाका जनप्रतिनिधि तथा राजनीति दलले चासो नदेखाउँदा ठेकेदारको मनोमानी बढेको र पुल बेवारिसे बन्न पुगेको यहाँका नागरिकहरूले दुखेसो गरेका छन् ।
तामाकोशी आर्चब्रीज नौ वर्षदेखि अलपत्र पर्दासमेत बनेका पुलका केही संरचनासमेत जीर्ण अवस्थामा पुगेका छन् । निर्माण गरिएका आर्चको विमर पिल्लसमेत अहिले खिया लागेर बेवारिसे बनेका हो । आगामी फागुन हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै जिल्लाका नागरिकले पुल अलपत्र पर्नुको कारण र हालसम्म पुल निर्माण गर्न र ठेकेदारलाई काममा फर्काउन चासो नदिने विभिन्न नयाँ–पुराना दलका उम्मेदवारलाई प्रश्न गर्न थालेका छन् । जिल्लाका आम मतदाता तथा नागरिकले घोषणा भइसकेका उम्मेदवार तथा सिफारिसमा परेका उम्मेदवारलाई पुल अलपत्र पर्नुको कारण खोज्दै सामाजिक सञ्जालहरूमा प्रश्न गर्न सुरु गरेका हुन् ।
२०७४ सालको प्रदेश तथा प्रतिनिधिसभा र २०७९ सालको निर्वाचनमा उम्मेदवार बनेका नेताले अलपत्र तामाकोशी पुल तथा लामोसाँघु–जिरी सडक खण्डको अलपत्र मुडे–चरिकोट सडक निर्माण, बेवारिसे फिल्म सिटीसँगै जिरी ताल निर्माणको आश्वासनमा अघिल्ला चुनाव जितेका थिए । ती नेताहरू फेरि उम्मेदवार बनिरहँदा यहाँका अलपत्र र बेवारिसे महत्वपूर्ण विकास आयोजनाले भने तिनै उम्मेदवारहरूलाई गिजाइरहेका छन् । यहाँबाट जितेर गएका सांसदहरू कोही संघीय र कोही प्रदेश मन्त्री भए तर मन्त्रीको पदमा पुग्दासमेत वर्षौँ पुराना र अलपत्र विकास पूरा गर्न सकेनन् ।
करोडौँ खर्च भइसकेको मुडे–चरिकोट सडक अहिले पनि अलपत्र छ । त्यसैगरी राज्यले पटकपटक स्थगित र सुचारु भन्दै हालसम्म करिब १७ करोड बजेट खर्च गरेको फिल्म सिटी आयोजना पनि अलपत्र बन्न पुगेको छ । दोलखाको जिरीमा निर्माण हुने भनिएको जिरी तालको अवस्था पनि उस्तै छ । केहि नेताले आफू सत्तामा हुँदा गरेको लगानी अहिले बालुवामा पानी खनाएजस्तै भएको जिल्लाका आम मतदाता नागरिकले बताउँन थालेका छन् ।