जुम्ला । जुम्लामा हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । जाडो बढ्दै जाँदा चिसोले खानेपानीका धाराका पानी ठोसमा परिणत भइ पानीका पाइप फुट्न थालेका छन् ।
यहाँका नागरिकले धारामा पिउने पानी आउन छाडेपछि बढी सास्ती खेप्नुपरेको छ । चन्दननाथ नगरपालिकाका स्थानीयवासी सुनिता बुढाले हिउँदे याममा नागरिकलाई कठ्याङ्ग्रिने जाडोले अत्यधिक सास्ती दिन थालेको बताइन् । विशेषगरी जुम्लालगायत माथिल्लो कर्णालीका मुगु, हुम्ला र डोल्पाका नागरिकको जनजीवन माघमा चिसो बढ्दै गएपछि कष्टकर बन्दै गएको हो ।
जल तथा मौसम कार्यालय जुम्लाका प्रमुख आशामपूरा कार्कीले तीन दिनसम्म मौसम बदलिने सम्भावना रहेको जानकारी दिएका छन् । यतिबेला जुम्लाको न्यूनतम तापक्रम माइनस ०।७१ डिग्री सेल्सियसमा झरेको छ । “चिसो बढ्ने क्रम जारी छ”, प्रमुख कार्कीले भने, “हिमपात भएपछि निकै जाडो बढेकाले नागरिकको जनजीवन निकै कष्टकर बन्दै गएको छ ।” हिमाली बासिन्दाको खासगरी बिहान र बेलुकाको दैनिकी कठ्याङ्ग्रिने जाडो नघट्दासम्म अझ बढी कठिन हुने कार्यालय प्रमुख कार्कीको भनाइ छ ।
खलङ्गा खानेपानी उपभोक्ता समितिको कार्यालयले करिब दुई हजार पाँच उपभोक्तामार्फत २२ हजारभन्दा बढी नागरिकलाई खानेपानी सेवा दिइरहेको जनाएको छ ।
हिमपात हुँदा किसान खुसी
जुम्ला लगायत माथिल्लो कर्णालीका जिल्लामा हिमपात भएसँगै यहाँका किसान खुसी भएका छन् । माघ महिनाको दोस्रो सातामा यो वर्षको पहिलो हिउँ परेपछि किसानले लगाएको हिउँदे बालीलाई निकै राम्रो हुने जुम्लाको तिला गाउँपालिका–१ स्थानीयवासि लङ्क बुढाले जानकारी दिए ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले अत्यधिक चिसो मौसममा यो वर्षको हिउँदे याममा जुम्लामा हिमपात भएपछि किसानले लगाएको हिउँदे बालीनाली निकै राहत पुगेको बताए ।
हिमपातपछि जुम्लाका डाँडाकाँडा सेताम्मे बनेका छन् । स्याउका नयाँ बिरुवा लगाउने समय भएकाले हिउँ पर्दा सहज भएको यहाँका किसान बताउँछन् । लामो समयपछि हिउँ परेपछि यहाँका स्थानीयवासी हिउँसँगै फोटो र भिडियो बनाउनमा व्यस्त हुने गरेका छन् ।
अहिले परेको हिमपातले गहुँ, जौ, आलुलगायत हिउँदे बालीलाई फाइदा पुग्ने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । लामो समयदेखि हिमपात नहुँदा सुक्न थालेको हिउँदे बालीमा राहत पुगेपछि स्थानीय किसानले राहत महसुस गरेका छन् । हिमपातले अवरुद्ध भएको हवाई सेवा आइतबारबाट सञ्चालनमा आएको नागरिक उडान कार्यालय जुम्लाले जनाएको छ ।