जुम्ला । शनिबारको भारी हिमपातले भुलभुलेमा बाक्लो हिउँ परेपछि बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ स्थित भुलभुले सडक सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहले कार्यालयबाट डोजर पठाएर उक्त स्थानको हिउँ पन्छाएपछि मंगलबारदेखि सडक पूर्ण रुपमा सञ्चालनमा आएको जानकारी दिएका छन् ।
दुई दिनसम्म हिमपातले सडक बन्द भएपछि मुगुको सदरमुकाम गमगढी बजारमा दैनिक उपभोग्य सामग्री, विकास–निर्माणका सामानहरु बीच बाटामै रोकिएको थियो । हिउँ पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतिर लागेको कनकासुन्दरी गाउँपालिका–१ का वडाध्यक्ष भीमबहादुर भण्डारीले बताए ।