म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा र अन्नपूूर्ण गाउँपालिका–६ घोडेपानीमा बुधबार हिमपात भएका कारण जनजिवन प्रभावित भएको छ । बिहानैदेखि निरन्तर हिमपात भइरहेको धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा सदस्य गुनराम छन्त्यालले जानकारी दिए । राती पानी परेको र करिब दुई इञ्ज बाक्लो हिउँ जमेको उनले बताए ।
दुई हजार सात सय मिटर उचाईमा रहेको गुर्जा जोड्ने पदमार्ग र सडक हिउँपरेपछि अवरुद्ध भएको छ । सर्वसाधारणहरु घरभित्रै आगो तापेर बसेका छन् । गाईबस्तु, भेडाबाख्रालाई गोठमै राखेर सुख्खा घाँस खुवाएर राखेका छन् ।
यो वर्षको दोस्रो हिमपात भएको भएको हो । हिमपात सुरुभएपछि पर्यटकीय स्थल घोडेपानी, पुनहिल, खोप्रा र मोहरेडाडामा चहलपहल घटेको, घुम्न आउने पर्यटक पनि घटेपछि सुनसान भएको घोडेपानीका होटल व्यवसायी मिना पुनले बताइन् ।
म्याग्दी जिल्लाभर भएको बर्षाका कारण हिउँदेबालीमा फाइदा पुगेको छ । हिउँ र आकाशे पानीले सिचाईको काम गरेको मालिका गाउँपालिका ७ का कृषक भुपेन्द्र शर्माले बताए । गहुँ, जौ, केराउ, सुन्तला, फलफुलका लागि बर्षाले सहयोग गरेको छ । सुख्खा भएको जमिन भिजेर बिरुवाले आवश्यक तत्व पाउने र खेतीबाली सप्रिने उनले बताएका छन् ।