तत्कालै सुशासन कायम गर्ने भन्दै र जान्नेलाई छान्ने भन्ने आकर्षक नाराबाट मत बटुल्न सफल भएको रास्वपा यो चुनावमा सुशासन र परिवर्तनको झन् चर्को नाराका साथ मैदानमा उत्रिएको छ तर यता यही दलका उच्चनेताले करोडौँको आर्थिक अपचलन गरेका र सबै कुरामा थितिको अन्त्य, बेथितिको थालनी भएको भन्दै पार्टी छाड्न थालेका छन् ।घटना विवरणहरूले यस्तो आरोपलाई सही पनि देखाउँछन् । रास्वपा एउटा मात्रै त्यस्तो पार्टी हो जसले निर्वाचनमा उम्मेदवार हुन आवेदन माग्यो र आवेदनका साथ मोटो रकम शुल्क पनि माग्यो । तर यो रकमको हिसाबकिताब भने देखाएन । त्यति मात्र होइन ठूलो रकम चन्दा दिनेलाई ठाडै उम्मेदवार बनायो भने यता आन्तरिक मतमा सबैभन्दा बढी अंक ल्याउनेलाई पन्छायो ।यसका साथै रास्वपाले आफ्ना सभापतिमाथि सहकारी ठगीको आरोप राजनीतिक प्रतिशोधबाट लगाइएको भन्ने हस्ताक्षर चन्दा सँगसँगै उठायो । उसका अनुसार यस्तो हस्ताक्षर गर्नेहरूको संख्या ४० लाखभन्दा बढी छ । अभियानमा संलग्न भएकाहरूले दिएका जनकारीअनुसार हस्ताक्षरकर्ताहरूले हजार, पाँच सय र न्यूनतम पनि सय रुपैयाँका दरले चन्दा दिएका थिए । यो रकम कहाँ गयो भन्ने अहिलेसम्म देखाइएको छैन ।त्यस्तो उम्मेदवारीतर्फ प्रत्यक्षका लागि २५ हजार र समानुपातिकका लागि ५० हजारको दर तोकिएको थियो । प्रारम्भमा नै यस्तो आवेदनकर्ताहरूको संख्या दुवैतर्फ गरेर दुई हजारभन्दा बढी रहेका भनेर देखाइयो । तर योअनुसार उठेको रमको अंक भने अझै लुकाइएकै अवस्थामै छ । यस्तो प्रकारको आर्थिक अपचलन र बेथितिका कारण राष्ट्रिय स्वतन्त्र पार्टीमा दल त्यागको क्रम पनि बढ्दै गएको छ । यो दलका सभापतिलगायतका नेताले आफूले दुई तिहाइको हाराहारीमा मत पाई नै सकेको भनेर प्रचार गरिरहेका र निर्वाचनको दिन आउन तीन हप्ता पनि बाँकी नरहेको अवस्थामा यस्तै बेथितिलाई देखाउँदै पार्टी परित्याग गर्ने क्रममा एक उच्च नेता प्रणय शमशेर राणाले पार्टीभित्र बेथिति बढेको र नेतृत्वले त्यसलाई प्रश्रय दिएको भन्ने गम्भीर आरोप लगाएका छन् । राणाका बुझाइमा उम्मेदवार चयनदेखि सदस्यता शुल्कसम्ममा ठूलो आर्थिक चलखेल र अपारदर्शिता तथा संगठनमा आन्तरिक लोकतन्त्रको व्यापक अभाव रहेको छ र तया झन्झन् पछिल्ला दिन बढ्दै गएको छ ।रास्वपाका पूर्वनेता राणा २०७९ को चुनावमा काठमाडौं–५ बाट रास्वपा उम्मेदवार थिए । यो पटक उनी समानुपातिकका पनि दाबेदार हुन् । आन्तरिक निर्वाचनमा उनले पहिलो नम्बर पाएका बताइएको छ । रकम कलमका बारे उनी आफैँ पनि भुक्तभोगी हुन् । त्यसै कारण पनि उनले आर्थिक अपचलनको कुरा उठाएका बुझ्न सकिन्छ । उनले दिएका राजीनामा पत्रमा नै उम्मेदवार चयनदेखि सदस्यता शुल्कसम्म ठूलो रकम उठाइएको आरोप उल्लेख भएको बाट पनि धेरै कुरा बुझ्न सकिन्छ । माघ मसान्तका दिन राणाले रास्वपा महामन्त्रीलाई सम्बोधन गरेर लेखेको राजीनामा पत्रमा भनेका छन्– ‘विशेष परिस्थितिको नाममा संगठनको आफ्नो नेतृत्व छान्ने अधिकार पनि लुटियो । एक हजार सदस्यता शुल्कबाट तीन सय पालिकामा आउने भनेको कहिले आएन, प्राइमरीका प्रक्रिया मात्र नभई त्यसका लागि भनी उठाइएको ठूलो रकममा पनि आर्थिक अपारदर्शिता÷अपचलन देखियो, पार्टी स्थापना कालमा गरिएको बाचा ‘बेथितिको अन्त्य– थितिको थालनी’ ठीक उल्टो भएर ‘थितिको अन्त्य, बेथितिको थालनी’ हुन पुगेको छ । रास्वपाका पदाधिकारी तथा केन्द्रीय सदस्य बेथितिका साझेदार बनेका छन् । केन्द्रमा बसेका पदाधिकारी तथा केन्द्रीय सदस्य अधिकांश यो बेथितिको साझेदार छन् भने अन्य अजिबोगरिब तवरले मौन छन् । सीमित केही बोल्ने साथीहरूको हविगत आम नेपालीलाई थाहा भइसकेको छ । सुशासन, जवाफदेहिता, आर्थिक पारदर्शिता अब पार्टीको नारामा मात्रै सीमित रहेको छ– अभ्यासमा फिटिक्कै छैन । राजनीतिमा कहिले पनि सामान्य परिस्थिति हुँदैनन् । त्यसैले नै सबै भैपरि आउन सक्ने परिस्थितिहरूलाई आकलन गरेर पार्टीले विधान बनाएको हुन्छ । अहिले विशेष परिस्थितिको नाममा बेथिति संस्थागत गर्दै गर्दा भोलि यही कुरा सरुवा, बढुवा, नियुक्तिमा हुँदैन भनेर आम नागरिकले कसरी विश्वास गर्ने ? आफ्नो आन्तरिक अभ्यास सही ढङ्गले नगर्ने पार्टीले भोलि सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास म गर्न सक्दिनँ र अन्धभक्ति गर्न पनि चाहन्नँ, त्यसैले यी सबै बेथितिका बाबजुद मुखदर्शक भएर पार्टीमै रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको व्यहोरा जानकारी गराउन चाहन्छु ।रास्वपामा रहेको अवधिमा पार्टीलाई व्यवस्थित गर्दै लोकतान्त्रिक दिशातर्फ लाने क्रममा सांगठनिक कार्य, नीति–निर्माण, तथा अभियानहरूमा पार्टीले दिएको जिम्मेवारी साथै आफ्नो बल बुद्धिले सकेको र जानेको सबै जिम्मेवारी पूरा गरेको हुँ । पार्टीका सुरुवाती दिनदेखि नै आन्तरिक लोकतन्त्र, सुशासन र आर्थिक पारदर्शिताका लागि पैरवी गर्दै आएको थिए । तर, नेताहरूले भने सुरुवातदेखि नै पार्टी केन्द्र आफ्नो अनुकूल संगठन र सांगठनिक संरचना बनाउनेमा मात्रै केन्द्रित रहे । कहिले लोकतान्त्रिक पद्धतिबाट बनेको निर्वाचन क्षेत्रलाई हटाउने विधान, त्यो नसकेपछि जहाँ सांसद छ त्यहाँको क्षेत्रीय सभापति उनै हुने विधान बनाउने, न राष्ट्रिय भेला लोकतान्त्रिक प्रक्रियाअनुरूप गरियो, न केन्द्रीय समितिको विस्तारित बैठक; यी दुवै पार्टीको नीति र विधान संशोधन गर्ने महत्वपूर्ण जिम्मेवारी रहेको ठाउँमा प्रतिनिधिहरूले लोकतान्त्रिक तवरले आफ्नो मत व्यक्त गर्न पाएनन् ।’ सदस्यता नै जलाएको जानकारी यही मेसोमा अर्का एक साधारण सदस्यले पनि यो दल छाडेका छन् । उनले त यो दलको अत्याचार सहन नसकेर आफ्नो सदस्यता सार्वजनिक ठाउँमा आगो लगाएर जलाई नै दिए । हेटौंडा–५ निवासी नवराज पहाडीले करिब एक वर्षअघि लिएको सदस्यता त्यागेको र सदस्यता कार्डसमेत जलाएका हुन् । उनका अनुसार आफूले सुरुमा देश र जनताको सेवाभावले प्रेरित भएर उक्त पार्टी प्रवेश गरेको तर, पार्टीको कार्यशैली, आन्तरिक प्रक्रियासम्बन्धी असन्तुष्टि र स्पष्ट नीति–योजनाको अभाव महसुस भएपछि अलग हुने निर्णयमा पुगियो ।लैलैमा लागेर एक वर्ष अगाडि उक्त पार्टीमा प्रवेश गरेकोमा अहिले पछुतो लागेको उनको बुझाइ छ । उनले लेखेका छन्, ‘रास्वपा नेपाल र नेपालीको सेवाको लागि नभई विदेशीको दलाली गर्ने, टिकट बाँडफाँडमा समेत मोटो रकम नेतृत्वलाई बुझाउन परेको, मुलुक निर्माणको कुनै भिजन र योजना नभएको, खाली पुरानो दलहरूलाई गाली मात्र गरेर हिँड्ने समाज भँडुवाहरूको भीड भएको हुँदा लोकतन्त्र, राष्ट्रियता र संविधानको रक्षको लागि यो घन्टे पार्टी परित्याग गरेको घोषणा गर्दै मैले झुक्केर लिएको घन्टे पार्टीको सदस्यता जलाएको घोषणा गर्दछु ।’घण्टीको घरदैलोमा सहकारीको घण्टीराष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले ठगेको सहकारीको रकमका बारे यो दलका उम्मेदवारले जवाफ दिनुपरेको छ । यदि जवाफ दिन सकिएन भने लुकेरै हिँड्नुपरेका दृश्यहरू पनि प्रकट हुन थालेका छन् । सबैभन्दा बढी रकम ठगिएको ठाउँ हो, रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड । यो सहकारीको रकम ठगेबापत उनले रुपन्देही जिल्ला अदालतको आदेशमा पूरै एक करोड रुपैयाँ धरौटी बुझाउनु परेको थियो । अहिले यही रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारसँग या ठगी प्रकरणमा कुनै जवाफ नभएर लुकेर हिँड्नुपरेको अवस्था देखिएको छ । यो सहकारीका पीडितहरूले जहाँ भेटे पनि रास्वपाका उम्मेदवारलाई लखेट्ने गरेका छन् । समाचारअनुसार दुई दिनअघि मात्रै रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नम्बर ११ होराइजन चोकमा सहकारीपीडितहरूले रास्वपा उम्मेदवार शुलभ खरेलको खोजतलास गर्दै प्रदर्शन र नाराबाजी गरेका थिए । हातमा ‘तिम्रो नेता खोइ ? लिएर आऊ, जेन–जीका माग कसले पूरा गर्छ ? सिंहदरबार किन जलाएको ?’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर नाराबाजी गरेका पीडित उभिएको देखेपछि घरदैलो अभियानमा रहेका शुलभ नजिकैको एल डोराडो होटलभित्र छिरेको पीडितहरूको दाबी छ । सुप्रिम सहकारीका १० हजार तीन सय ९१ जना बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँभन्दा बढी अपचलन भएको छ । यी न्यून आय भएका बचतकर्ताहरू रकम फिर्ता पाउन तीन वर्षदेखि लडिरहेका छन । सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको पाइएको छ । त्यसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण लिइएको संसदीय समितिको प्रतिवेदनमा पनि उल्लेख छ । हाक्काहाक्की टिकट किनबेचरास्वपाका यी केही नमूना बेथिति मात्रै हुन् । पैसा लिएर टिकट बेचेका कुरा त्यसै आएको होइन होला । उम्मेदवारका आकांक्षीहरूबाट पैसा तलिइयो फेरि टिकट भने दिइएन । त्यसो भए पैसा फिर्ता गर भन्ने मागलाई यो दलको यो नेतृत्वले सुन्दै सुनेन ।हाल यो दल छाडेका माथि उल्लिखित दुई पात्रले जानकारी गराएका कुरा समान छन् । पहिले यो दलले उम्मेदवार बन्न निवेदन माग गर्दा प्रत्यक्ष र समानुपातिकका लागि एक÷एक हजार निवेदन परेका बताएको थियो । यी दुई थरी उम्मेदवारका आकांक्षी निवेदकहरूबाट २५ र ५० हजारका दरले रकम उठाइयो । अहिले यो रकमको हिसाबकिताब गायब पारिएको भन्ने छ ।यो दलमा यो विषयपछि थपिएको बेथितिको शृंखलाको एउटा भाग हो । यसअघि आफ्ना सभापतिका पक्षमा ४० लाख हस्ताक्षरका साथ तिनले केही न केही चन्दा पनि दिएका बत(ाइएको थियो । त्यसको पनि हिसाब गरिएको देखिएको छैन ।