काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको बानेश्वरस्थित संसद् भवनको १ नम्बर गेटमा रमेश सिलवालद्वारा लिखित पुस्तक ‘नेपालमा जेन–जी आन्दोलन’ को बिहीबार औपचारिक विमोचन सम्पन्न भयो । पुस्तकका लेखक सिलवाल चिल्ड्रेन भिजन नेपालका अध्यक्षसमेत हुन् ।
समकालीन नेपाली समाज, डिजिटल पुस्ताको राजनीतिक चेतना तथा राज्य संरचनाप्रतिको बदलिँदो दृष्टिकोणलाई समेटेर तयार गरिएको उक्त पुस्तक लोकार्पण कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, अध्येता, जेन–जी आन्दोलनका अगुवाहरू, युवा प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
‘नेपालमा जेन–जी आन्दोलन’ केवल शब्दहरूको संकलन नभई जेन–जी पुस्ताको पीडा, संघर्ष र आशाको प्रत्यक्ष दस्तावेज भएको लेखक सिलवालले जानकारी दिए । पुस्तकले नेपालमा विकसित जेन–जी आन्दोलनलाई ऐतिहासिक, सामाजिक, आर्थिक तथा राजनीतिक सन्दर्भमा विश्लेषणात्मक रूपमा प्रस्तुत गरेको छ ।
विशेषगरी सामाजिक सञ्जालमार्फत संगठित युवाशक्तिको उदय, भ्रष्टाचार र दण्डहीनताप्रतिको आक्रोश, अवसरको अभाव, नीतिगत अपारदर्शिता तथा राज्यप्रतिको अविश्वासजस्ता विषयहरूलाई समग्र रूपमा समेटिएको छ । जेन–जी पुस्तालाई ‘डिजिटल नेटिभ’का रूपमा व्याख्या गर्दै उनीहरूको संगठन निर्माणको नयाँ शैली, परम्परागत नेतृत्वप्रतिको प्रश्न र वैकल्पिक राजनीतिक संस्कृतिको खोजबारे गहन विश्लेषण गरिएको छ ।
पुस्तकमा नेपालको आन्दोलनको ऐतिहासिक पृष्ठभूमि पनि समावेश गरिएको छ । प्रजातन्त्र स्थापना, पञ्चायतविरोधी आन्दोलन, २०४६ सालको जनआन्दोलन तथा २०६२/६३ को जनआन्दोलन हुँदै विकसित राजनीतिक यात्राले निर्माण गरेको अपेक्षा र त्यसपछिको निराशालाई सन्दर्भसहित प्रस्तुत गरिएको छ । सोही पृष्ठभूमिमा विकसित जेन–जी आन्दोलनलाई परम्परागत दलगत संरचनाभन्दा बाहिरको स्वतःस्फूर्त अभिव्यक्तिका रूपमा व्याख्या गरिएको छ । साथै आन्दोलनका सकारात्मक पक्षसँगै त्यसका सीमाहरू, चुनौतीहरू र सम्भावित जोखिमहरूलाई पनि तथ्यगत रूपमा समेटिएको छ ।
विमोचन समारोहमा बोल्दै लेखक सिलवालले भने, ‘यो पुस्तक कुनै धारणा आरोपित गर्ने प्रयास होइन, बरु जेन–जी आन्दोलनलाई इतिहास, समाज र राजनीतिका व्यापक सन्दर्भमा बुझ्ने आधार तयार गर्ने प्रयास हो । सडकमा उठेका आवाज र पीडालाई शब्दमा परिणत गरेर भावी पुस्ताका लागि सुरक्षित राख्ने मेरो उद्देश्य हो।’ उनले स्वतन्त्रता र लोकतन्त्र सहजै प्राप्त नभएको उल्लेख गर्दै त्यसका लागि गरिएको संघर्ष, बलिदान र युवाशक्तिको योगदानलाई स्मरण गर्नुपर्ने आवश्यकता औंल्याए । ‘नेपालमा जेन–जी आन्दोलन’ अब देशभरका प्रमुख पुस्तक पसलहरूमा पाइने पनि लेखक सिलवालले जानकारी दिए ।