दोलखा । हिमाली जिल्ला दोलखामा हिउँदे वर्षासँगै हिमपात भएको छ । मंगलबार दिउँसो कालिञ्चोक, शैलुङलगायतका माथिल्लो क्षेत्रमा हिउँ परेको छ भने तल्लो क्षेत्रमा असिना सहित हिउँदे वर्षा भएको हो ।
समग्र जिल्लामा ५ महिनापछि हिमपात र वर्षाद हुँदा हिउँदे किसानलाई राहत मिलेको छ । जिल्लाका आलु र गहुँ किसानलाई राहत मिलेको हो । यस्तै हिमपात भएपछि किसानसँगै होटल तथा पर्यटन व्यवसायीलाई पनि उत्साहि बनाएको छ । उनीहरू लामो समयदेखि वर्षात् र हिमपातको पर्खाइमा रहेका थिए । जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल शैलुङ र कालिञ्चोकमा बाक्लो हिमपात भएकाले दोलखामा बुधबारदेखि पर्यटक बढ्ने यहाँका होटल व्यवसायी अपेक्षा छ । कालिन्चोक क्षेत्रमा एक फिटसम्म हिउँ झरेको स्थानीय तेम्बा पाख्रीनले जानकारी दिए । हिउँले जिल्लाका उच्च भेग तथा डाडाँकाडा सेताम्मे बनेका छन् । हिमपात र वर्षाद भएसँगै जिल्लाभर चिसो भने बढेको छ ।