कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा गोरुगाडामा सवार एक दम्पतीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक योगेन्द्र तिमिल्सिनाले सोही ठाउँका ६० वर्षीय कलसु चौधरी र उनकी ७० वर्षीया श्रीमती सेतानु चौधरीको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार ना.६ख७७८ नम्बरको ट्रकले गोरुगाडालाई पछाडिबाट ठक्कर दिँदा गम्भीर घाइते भएका दम्पतीलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएकामा उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रनाउ तिमिल्सिनाले ट्रकले ठक्कर दिँदा गोरुगाडा तान्ने दुवै गोरुको पनि मृत्यु भएको बताए । प्रहरीले ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर घट्नाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।