दोलखा । अविरल वर्षा र असिनापानीले दोलखाको वैतेश्वर गाउँपालिका–८ एवोमा लाखौंको आलुखेतीमा क्षति पुगेको छ । लगातारको बेमौसमी वर्षासँगै खसेको असिनाले सिङ्गो गाउँमा लगाइएको आलुखेती नष्ट भएपछि यहाँका आलु किसान चिन्तित बनेका छन् ।
गत शुक्रबार दिउँसोको असिना र त्यसअघि भएको वर्षाले एक हजार पाँच सय रोपनी क्षेत्रमा लगाइएको आलु पुरै नष्ट गरेको किसान बल बहादुर जिरेलले बताए । उनका अनुसार एवोको जिरेल टोल, कार्की टोल, बस्नेत गाउँ र खत्री गाउँमा लगाइएको करिब ७ सय मुरी बराबर फल्ने आलुमा क्षति पुगेको हो । किसान तिलक जिरेलको आफ्नो १५ मुरी बराबरको आलु खेती नष्ट भएको बताए । यहाँका किसानको मुख्य आम्दानीको स्रोत तथा दैनिक गुजारा चलाउने खेती नै आलु हो । करोडौंको आलुखेती असिनाले नष्ट पारेपछी सिङ्गो गाउँ नै चिन्तित बनेको छ । यहाँका किसानहरूले गत वर्ष स्थानीय सहकारीमार्फत करिब साढे दुई करोड बराबरको आलु बिक्री गरेको थिए । यस वर्ष भने प्राकृतिक प्रकोप र रोगले समस्यामा पारेको किसानहरूको गुनासो छ । दैनिक घरखर्च चलाउने खेती नै आलु भएको कारण पनि वर्षभरिको मुख्य कमाइमा असिना लागेपछि अब के गर्ने भन्ने अन्योलमा रहेकोे स्थानीय ललित बहादुर बस्नेतले बताए ।
बस्नेतले गतवर्ष ६ लाख बराबरको आलु बिक्री गरेका थिए । तर यस पटक भने चैतमै आलुमा असिना लागेपछि अर्को सिजनसम्म बारी बाझै बस्ने उनको चिन्ता छ । समुद्री सतहदेखि करिब २२/२५ सय उचाइ अवस्थित एवो गाउँ वैतेश्वरकै टाढा र विकट लेकाली गाउँ हो । यहाँका करिब एक सय ८ जना किसानले वर्षौंदेखि व्यवसायिक रूपमा आलुखेती गर्दै आएका छन् । नियमित परेका पानी र असिनाले चुट्दा आलुको बोट नस्ट भएको वैतेश्वर–८ का वडा अध्यक्ष शान्त बहादुर जिरेलले बताए । मौसमी वर्षे बालीको रूपमा मंसिर/पुसमा आलुखेती हुने उक्त क्षेत्रमा साउनदेखि आलु खन्ने गरिन्छ । आलु नष्ट हुँदा बेमौसमी आलुको लागि बिउनै अभाव हुने भएको छ ।
वैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामाले आलु नष्ट हुँदा किसानलाई करोडौंको क्षति भएको बताउँदै पालिकाले राहत उपलब्ध गराउने जानकारी दिए । क्षतिग्रस्त बालीको सोमबार अनुगमन गर्दै आउदो बजेटमार्फत राहत उपलब्ध गराउने बताए । सोमबार आलुमा असिनाले पुर्याएको क्षतिको विवरण संकलन गर्न पालिका अध्यक्ष लामासहित उपाध्यक्ष कल्पना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत महेश पौडेल,कृषि प्राविधिकको टोलि एवो पुगेको थियो । उक्त टोलिले पीडित ८७ जना आलु किसानको विवरण संकलन गरेर फर्केको वैतेश्वरका कृषि प्राविधिक निरोज पाण्डेले जानकारी दिए ।