दोलखा । लामासाँघु– जिरी सडक खण्डअन्तर्गतको तामाकोशी नदीमा निर्माणाधीन आर्च ब्रीज १० वर्षदेखि अलपत्र बनेको छ । लामो समयसम्म पनि पुल निर्माण नभएपछि हाल पुरानौ जीर्ण पुलको मर्मत गर्न थालिएको छ । तामाकोशी नदीमा रहेको स्टिल ट्रस पुललाई नै मर्मत तथा रंगरोगन गर्न सुरु गरिएको हो ।
२०३८/०३९ सालमा लामोसाँघु–जिरी सडकसँगै पुल निर्माण गरिएको थियो । सडकको पुरानो रुपरेखा फेरिएर फराकिलो भए पनि पुलभने अझै जीर्ण अवस्थामा रहेको छ । जीर्ण रहेको पुरानो पुलको नटबोल्ड फेर्ने र पुरानो खिँया सफा गरेर रंगरोगन गर्न थालिएको हो । पुल महाशाखा सेक्टर नम्बर–२ पुल विभाग काठमाडौंले चैत पहिलो सातादेखि पुरानो पुलको मर्मत कार्य सुरु गरेको छ । दशकौँ अघि बनेको पुरानो पुलको भारवहन क्षमता समाप्त हुँदै गर्दा जोखिमको नजरअन्दाज गर्दै पुल महाशाखाले पुल मर्मत तथा रङरोगन गर्न सुरु गरेको हो ।
तामाकोशी नदीमा आर्च ब्रीज निर्माणको लागि २०७२/०७३ मा झण्डै १० करोडको लागतमा बन्नेगरी निर्माण कम्पनी नीलगिरी–नेसनल जेभीले ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौतापश्चात् ठेकेदार कम्पनीले पनि करिब ३०÷३५ प्रतिशत काम गरेर बेवारिसे टाडेको छ । २०७३ साल भदौमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो ७५ मिटर लामो आर्च पुल हो । तर १० वर्ष पुग्न लाग्दा पनि अझै अलपत्र अवस्थामा छ । ठेकेदारको ढिलासुस्ती र सरकारी निकायको फितलो अनुगमनका कारण पुल निर्माण कहिले बन्ने हो अझै टुंगो छैन ।
तामाकोसीको पुरानो पुल अत्यन्तै जोखिमपूर्ण अवस्थामा छ । करिब ४५ वर्षको पुरानो पुलको फलामे पुलका जोर्नीहरू खिएका छन् भने ठूला सवारी साधन गुड्दा पुल निकै हल्लिने गर्दछ । सोही जीर्ण पुललाई पुल महाशाखाले रङरोगन गर्न लागेको हो । कुनै पनि बेला ठूलो दुर्घटना निम्त्याउन सक्ने यस्तो गम्भीर समस्या समाधानका लागि नयाँ पुल छिटो सञ्चालन गर्न दबाब दिनुको सट्टा विभागले पुरानै पुललाई रङ लगाएर नयाँ जस्तै देखाउन खोज्नु रहस्यमय र जोखिमपूर्ण रहेको स्थानियको भनाइ छ । स्थानीय बासिन्दाहरूले रङरोगनले पुलको आयु नथप्ने र यसले झन् दुर्घटनाको जोखिमलाई निम्त्याउने बताएका छन् । नयाँ पुल सञ्चालनमा नआउँदा दैनिक सयौँको संख्यामा गुड्ने सवारी साधनले जोखिम मोलेरै ओहोरदोहोर गर्नुपर्ने बाध्यता रहेको छ ।
चरिकोट, जिरी र छिमेकी जिल्ला रामेछाप तथा पुर्व तराईसम्मको यातायात सम्पर्क यही एउटा जीर्ण पुलमा अडिएको छ । पुलको दयनीय अवस्थाले गर्दा चालक र यात्रुहरू सधैँ त्रसित रहने गरेका छन् । पटक–पटकको ताकेता र विरोधका बाबजुद ठेकेदारलाई कारबाही गरी काम सम्पन्न गराउन नसक्नुले स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको कार्यक्षमतामाथि समेत प्रश्न उठेको छ ।
तामाकोशी पुल निर्माणमा भएको ढिलाइ र मर्मत सम्भारको विषयमा पुल सेक्टर काठमाडौँकी प्रमुख रत्नलक्ष्मी बज्राचार्यले निर्माण व्यवसायीको लापरबाहीका कारण काम अगाडि बढ्न नसकेको बताइन् । उनका अनुसार ठेक्का सम्झौता गरेको निलगिरी नेसनल जेभीका प्रतिनिधिहरू हाल सम्पर्कमा नरहेको र काममा पनि नफर्किएकाले अब ठेक्का तोड्ने अवस्थामा पुगेको छ । कार्यालयले वैशाख मसान्तसम्मको समयसीमा तोकेको जानकारी दिँदै सो अवधिभित्र खोलामा ‘रिग’ मेसिन राखेर काम सुरु नभए जेठ मसान्तपछि प्रक्रियागत रूपमै ठेक्का रद्द गरिने उनले बताइन् । त्यस्तै हाल सञ्चालनमा रहेको वर्षौँ पुरानो पुलको मर्मत र रङरोगनको विषयमा जानकारी दिँदै प्रमुख बज्राचार्यले सुनकोशी र तामाकोशी दुबै नदीका पुलहरूको मेम्बर फेर्ने र रङ लगाउनका लागि करिब साढे दुई करोड रुपैयाँको बजेट विनियोजन भई काम भइरहेको बताइन् । निर्माण व्यवसायीले ‘काम गर्छु’ भनी मौखिक प्रतिबद्धता जनाए पनि व्यवहारमा कुनै प्रगति नदेखिएकोले अब सरकारीस्तरबाटै ठेक्का तोड्ने तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिइन् ।