पोसकान्त पोखरेल
तिलोत्तमा । नेपालको संविधान २०७२ ले संघीयताको मर्मअनुरूप स्थानीय तहलाई बलियो बनाउन ‘नगर प्रहरी’ सम्बन्धी व्यवस्थालाई विशेष महत्व दिएकोे छ । संविधानको अनुसूची–८ मा स्थानीय तहको एकल अधिकारको सूची अन्तर्गत पहिलो नम्बरमै नगर प्रहरीलाई राखिएको छ, जसले गाउँपालिका र नगरपालिकालाई आफ्नो सुरक्षा संयन्त्र आफैँ गठन र सञ्चालन गर्ने संवैधानिक वैधानिकता प्रदान गरेको छ । संविधानको धारा २२६ ले दिएको अधिकार प्रयोग गरी स्थानीय तहले नगर प्रहरीको सेवा–सर्त र परिचालनका लागि आवश्यक कानुन निर्माण गर्न सक्ने व्यवस्था रहेको छ, जसले स्थानीय सुशासनको आधार खडा गर्दै गएको पाइन्छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले गाउँपालिका तथा नगरपालिकाको एकल अधिकार अन्तर्गत नगर प्रहरीको गठन, सञ्चालन, नियमन र व्यवस्थापनका लागि स्पष्ट कानुनी व्यवस्था गरेको छ । ऐनको परिच्छेद–३, को दफा ११ मा व्यवस्था भएबमोजिम नगर प्रहरीलाई केवल सुरक्षामा मात्र सीमित नराखी स्थानीय सरकारको नीति, कानुन र निर्णयहरू कार्यान्वयन गराउने प्रमुख संयन्त्रको रूपमा परिभाषित गरिएको छ । जसअन्तर्गत सार्वजनिक ऐलानी र पर्ती जग्गाको संरक्षण, सार्वजनिक भवन तथा सम्पदाको सुरक्षा र अनधिकृत निर्माण तथा अतिक्रमण रोकथाममा नगर प्रहरीको भूमिका निर्णायक हुने उल्लेख छ । यसका साथै स्थानीय बजार तथा पार्किङ स्थलको व्यवस्थापन, नगरको सरसफाइ सम्बन्धी मापदण्डको पालना गराउने र न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयहरूलाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि नगर प्रहरीकै काँधमा छ । स्थानीय स्तरमा हुने सभा–समारोह, जात्रा र चाडपर्वहरूको सुरक्षा व्यवस्थापनसँगै विपद्को समयमा खोज, उद्धार र राहत कार्यमा सक्रिय परिचालन हुने वैधानिक बाटो ऐनले खोलेको छ ।
संवैधानिक व्यवस्था र नगरपालिकाको कार्यविधी अनुसार सञ्चालित तिलोत्तमा नगर प्रहरीको कार्यशैलीको पनि चर्चा हुने गरेको छ । सहकार्य, समन्वय गर्दै कानुनको परिधिभित्र रहेर कार्यसम्पादनमा अब्लता देखाएको तिलोत्तमा नगर प्रहरी कसरी अगाडी बढेको छ त ?नगर प्रहरी प्रमुख नरप्रसाद श्रेष्ठका अनुसार हाल तिलोत्तमा नगरपालिकामा ५ जना फायरमेन सहित कुल २४ जनाको दरबन्दी रहेको छ । जबकी२०७४ सालको स्थापनाकालमा यो संख्या मात्र ५ जनाको मात्र थियो। संविधानले गरेको व्यवस्था र नगरपालिकाको कार्यविधी अनुसारका सबै कार्यहरू सम्पादन गर्दै नगर प्रहरीले सरसफाइ, पार्किङ व्यवस्थापन, छाडा चौपाया नियन्त्रण र नदीजन्य पदार्थको चोरी निकासी रोक्न सक्रिय भूमिका खेलिरहेको छ। नगरपालिकाको निर्णयबमोजिम फुटपाथ व्यवस्थापन र गुट्खाजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने कार्यमा नगर प्रहरी क्रियाशील छ । यसका साथै सडक दुर्घटनामा नेपाल प्रहरीसँगको समन्वयमा उद्धार गर्ने, नगरको सौन्दर्यकरण र हरियाली प्रवर्धनका लागि बोटबिरुवा लगाउने तथा रेखदेख गर्ने कार्यमा समेत नगर प्रहरीको भूमिका महत्वपूर्ण रहेको छ। ७२ वटा सिसी क्यामेराको निरन्तर निगरानीले गर्दा कुनै पनि घटनाको जानकारी हुनासाथ वा सर्वसाधारणले खबर गर्नुअगावै घटनास्थलमा पुग्न र प्रमाण सुरक्षित राख्न ठूलो सहयोग पुगेको छ। नागरिकसँगको मैत्रीपूर्ण सम्बन्ध र सुरक्षा निकायहरूसँगको समन्वयले गर्दा नगरको सुरक्षा व्यवस्थापन थप मजबुत बनेकोनगर प्रहरी प्रमुख श्रेष्ठको दाबी छ ।
नगरपालिकाका सबै क्षेत्रमा, विशेषगरी राजमार्ग र जोखिमयुक्त स्थानमा दिनको दुई–तीन पटक गस्ती गर्ने गरिएको छ भने कुनै पनि सूचना प्राप्त हुनासाथ यात्राको समयबाहेक एक मिनेटभित्रै रेस्पोन्स गर्ने गरी २४ सै घण्टा टोली तयारी अवस्थामा रहन्छ । स्थानीयको चाहना र जनगुनासो नआउने गरी कार्यसम्पादन भइरहेको नगर प्रहरीको दाबी छ । विपद् व्यवस्थापनमा पनि नगर प्रहरी क्रियाशील छ । नागरिक र सुरक्षा निकायहरूबीचको मैत्रीपूर्ण समन्वयले नगरको समग्र सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको श्रेष्ठ बताए ।
श्रेष्ठले अगाडी थपे–“स्थानीयस्तरमा छाडा गाईगोरु र भुसिया कुकुर व्यवस्थापन मुख्य चुनौतीको रूपमा रहेको छ । जसअन्तर्गत हालसम्म सात सय गाईगोरुलाई गौशालामा संरक्षणका लागि पठाइसकिएको छ। पूर्ण व्यवस्थापनमा कठिनाइ हुँदा अझै पनि कृषकको बालीनालीमा नोक्सानी पुर्याउने र सडक दुर्घटना हुने गरेको छ । यो एक प्रकारको राष्ट्रिय रोग जस्तै बनेकाले कुनै पनि स्थानीय तहको एक्लो प्रयासले समाधान गर्न कठिन छ। यो समस्याको समाधान गर्न राज्यस्तरबाटै कदम चाल्नु पर्दछ । वर्तमान सरकारसमस्या समाधानमाविशेष भूमिका खेल्नेमा हामी आशावादी छौँ ।”
नगरप्रहरीको कार्यसम्पादन प्रति सिद्धार्थ राजमार्ग अन्र्तगतकास्थानीयहरु सन्तुष्ट रहेको धारणा राख्दछन् । सोही क्रममा नगरपालिकाको नं. वडा १५ कोटिहवाका पशुपति भण्डारीले भने–“राम्रो गरेकोलाई राम्रै गरेको भन्नुपर्छ । तपाईं आफैपनि देख्न सक्नुहुन्छ पहिलेको अव्यस्थित अवस्था रअहिलेको व्यवस्थित व्यवस्था । सबैफुटपाथ हटाएर पार्किङलाई कति व्यवस्थित बनाइएको छ । सडक खण्डमा हरियाली प्रवर्धनले झन वातावरणलाई रमणीय बनाएको छ । केही दिन अघि मात्र यहि सडकमा एउटा घटना घट्यो जहाँ नेपाल प्रहरी भन्दा पहिले नगर प्रहरी आएको देखियो । हामी पाँच÷सात जना आपसमा कुरा गरेर निकै खुशी हुँदै नगरप्रहरीको कार्यप्रति दिल खोलेरै प्रशंसा गर्यौ ।”
त्यस्तै, नगरपालिकाको वडा नं. १४, १६, १७ लगायतका केही स्थानका धेरै जसो स्थानीयहरु नगरप्रहरीको कार्यसम्पादन प्रति सन्तुष्ट रहेको प्रतिक्रिया दिए भने केही स्थानमा आफूहरुले सेवा नलिएको हुँदा के कस्तो छ थाहा नभएको बताए । केही स्थानीयहरुले नगरप्रहरीको नम्बर थाहा नहुँदा आपतकालीन अवस्थामाफोन गर्न हुन्छ भनेर नेपाल प्रहरीको नम्बर राखेको बताए। केही युवाहरुले सबै स्थानीयलाई नगरप्रहरीको पहुँच र सेवाको बारेमा थाहा नहुन सक्ने भएकाले त्यसैले नगरपालिकाले प्रत्येक घरमा नगर प्रहरीको बारेमा सचेतना फैलाउँदै तीन÷चार अंकको सम्पर्क नम्बर राखेर उपलब्ध गराउन सुझाव दिए ।
तिलोत्तमा नगरपालिकाले नगर प्रहरीलाई केवल एउटा सुरक्षा इकाइको रूपमा मात्र नभई नगरको सुशासन, व्यवस्थापन र सौन्दर्यीकरणको मेरुदण्डका रूपमा स्थापित गरेको देखिन्छ । सीमित स्रोत र साधनका बीच २४ सै घण्टा नागरिकको सेवामा समर्पित हुनु र सूचना प्राप्त भएको एक मिनेटभित्रै घटनास्थलमा पुग्ने तत्परता देखाउनुले स्थानीय सरकारको उपस्थितिलाई मजबुत बनाएको छ । यद्यपि, नगर प्रहरीको पहुँच वृद्धिमा जनचेतना फैलाउनु र छाडा चौपाया जस्ता जटिल समस्या समाधानका लागि छिमेकी पालिकाहरूसँग समन्वय गर्नु आगामी दिनको मुख्य चुनौती देखिन्छ । यदी यी पक्षमा ध्यान दिने हो भने तिलोत्तमा नगर प्रहरी देशभरकै स्थानीय तहका लागि एउटा उत्कृष्ट ’मोडल’ बन्न सक्ने निश्चित छ । साथै बढ्दो शहरीकरण र सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै नगरपालिकाका कहाँबाट छिरेको व्यक्ति कहाँबाट निस्कियो भन्ने जानकारी राख्न सोही अनुसारको संयन्त्रकोे विकास गर्न सके देशमै सर्वोत्कृष्ट हुने कुरामा कुनै दुई मत छैन ।