दोलखा । दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकाको सुन्द्रावतीमा भेटिएको एउटा प्राचीन भग्नावशेषले धेरैलाई अचम्मित र ध्यानाकषिर्त बनाएको छ । जिल्लाको कालिञ्चोक–९ अन्तर्गतको सुन्द्रावती कटुवाचौरको स्थानीय आँगेडाँडामा उत्खननको क्रममा प्राचीन शैलीको विशाल भवनको भग्नावशेष फेला परेको हो ।
उक्त संरचनालाई स्थानीयले थामीका राजा खान्डुको दरवार भएको दाबी गरेका छन् । वरपरको खुल्ला र खेतीयोग्य जग्गाको डाँडामा देखिएको उक्त भग्नावशेष खान्डुराजाको हुनसक्ने उनीहरुको अनुमान छ । यहाँका पुराना पुस्ताका थामी समुदायका सदस्यका अनुसार १७/१८ सय वर्ष अगाडीको प्राचीन शैलीमा यहाँ थामी राजाको दरबार थियो । खान्डु कुनै समयमा प्रख्यात थामी राजा रहेको यहाँका थामी समुदायको भनाइ छ । दोखला थामीहरुको उद्गम स्थल भएको र उक्त डाँडामा राज गरेर बसेको भन्ने पुर्खाबाट सुनिएको हुँदा पनि उक्त संरचना खान्डुकै दरबार हुनसक्ने स्थानीय ८५ वर्षीय गोपीलाल थामीले सुनाए । परापूर्वकालमा थामी समूदायको पूर्वज खान्डु राजाको दरबार आँगेमा थियो भन्ने आफूले आफ्ना बाबु बाजेबाट सुनेको उनले बताए । अहिले सोही ठाउँमा उत्खनन गर्दा विशाल भवनको अनेकौं कोठा र सिङ्गो एरिया नै माटोले छोपेको अवस्थामा पाइएको उनको भनाइ छ । प्राचीन कलामा निर्माण गरिएको दरबारको वाल, त्यसबेला विना हतियार प्रयोग गरिएर बनाइएको मसिना ढुङ्गा, जातो तथा छेउमा चौतारी फेला पारिएको उनले बताए । बाबु बाजेबाट सुनेको कुरा अहिले दरवारको भग्नावशेष भेटिँदा त्यो कुरा सत्य रहेछ भन्ने कुरा आफूलाई विश्वास भएको उनको दाबी छ ।
दोलखामा थामी जातिको पहिचान तथा कला संस्कृति संरक्षणका लागि बागमती प्रदेश सरकारले सुन्द्रावतीमा थामी संग्रालय भवन बनाउन बजेट विनियोजन गरेको थियो । बजेट विनियोजनपछि भवन निर्माणको लागि उत्खनन गर्दा माटोले पुरेको अवस्थामा उक्त भग्नावशेष फेला परेको हो । नयाँ भवन निर्माणको लागि जमिन खन्दै जाँदा २१ मिटर लम्बाई तथा १७ मिटर चौडाइको वाल भेटिएको र पछि उत्खनन गर्दै जाँदा भवनको कोठाहरु भेटिएको उनले बताए । उनका अनुसार जमिनको करिब आधा भाग उत्खनन गर्दा ९ वटा कोठाहरु प्रष्टसंग देखिएका छन् । उनका अनुसार भवनको पश्चिमतर्फ करिब १८ फिट चौडाइ तथा ५४ फिट नै लम्बाइ रहेको अर्को भवनको जगसमेत भेटिएको छ । मुख्य भवनको भित्रको भागमा रहेको माटो तथा ढुङ्गा पन्छाउने काम बाँकी रहेको उनले बताए ।
कालिञ्चोक गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष विनकुमार थामीका अनुसार स्थानीयले खान्डु पुर्खाको दरबार दाबी गरे पनि खोज, अनुसन्धानबाट प्रमाणित गर्न बाँकी रहेको बताए । तत्काल नेपाल सरकार र पुरातत्व विभागलाई ल्याएर भग्नावशेषको अनुसन्धान गर्न लगाएपछि मात्र थाहा हुने उनको भनाइ छ । उनले बाहु बाजेले भनेकै ठाउँमा प्राचीन भवन भेटिनुले स्थानीयले खान्डुराजको दरबार दाबी गर्नु स्वभाविक रहेको र त्यसलाई सरकारले चाडै खोज अनुसन्धान गर्न लाग्नुपर्ने बताए । ‘सामान्य हिसाबले भवनको भग्नावशेष हेर्दा कुनै व्यक्तिको मात्र घर त्यो छाँटको त्यो समयमा हुने सम्भावना देखिदैन, जस्ले दरबार नै हो भन्नेतर्फ संकेत गर्दछ’, उनले भने ।
यहाँका पुराना पुस्ताका थामी समुदायका अनुसार दोल्खे राजाले खान्डुलाई कर संकलन गर्न उत्तरी क्षेत्रमा पठाएको थिए । तर लामो समयसम्म दरबार नफर्केपछि खोजेर ल्याउन सेना पठाउँदा विशाल दरबार बनाएर खान्डु सुन्द्रावतीमा बसेको देखेपछि दोल्खेराजलाई खान्डुले छुट्टै राज्य चलाएर बसेको भन्ने खबर पु¥याएका थिए । सो सूचना पाउनसाथ खान्डुले दोल्खे राजाले कारबाही गर्ने पत्तो पाएर आँगेडाँडामा आफ्नो सेनाको उपस्थिति बलियो देखाउन दरबार वरपरका रुखविरुवा रातोमाटो र कमेरो दलेर सेना जस्तै बनाएर राख्छन् । त्यो देखेपछि दोल्खेराजाका सेनाले खान्डु बाक्लो सेनासहित दरबार बनाएर बसेकोले खान्डुसँग युद्ध गर्न नसकिने भन्दै फर्केर गएको र खान्डुले उत्तरको राजाको रूपमा शासन गरेको यहाँका थामी समुदायको मान्यता छ ।
झापाका थामी अगुवा मेघराज थामीले पनि आफ्नो पुस्तकमा सुन्द्रावतीमा बसेका खान्डुको सन्दर्भ उल्लेख गरेका छन् । उनको पुस्तकमा खान्डुले थामीका पू्र्खा यापती र सोनारीको कान्छी छोरी याङयाङ छिलाई विवाह गरेर बसेको उल्लेख गरेका छन् । दोलखा सुन्द्रावतीका थामीहरु २४ पुस्तामा आइपुगेको र खान्डु राजाको दरबार बाइसे/पच्चीसे राज्य हुनु अघिकै हुनसक्ने थामी अगुवाहरुले अनुमान छ । पुस्तकमा पनि १७/१८ सयवर्ष पूर्व खान्डुराजा बसेको भनेर उल्लेख गरिएको छ । यहाँका थामी समुदायले उक्त संचरनाको अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन् ।