भ्रेपलाञ्चोक । यहाँको सरकारी वन क्षेत्रमा ‘जडीबुटी’को प्रचुर सम्भावना रहेको देखिएको छ । हाल यहाँको एक लाख ४० हजार किलोसम्म जडीबुटी संकलन गर्न सकिने डिभिजन वन कार्यालय धुलिखेलको तथ्यांकले देखाएको छ ।
वन नियमावलीअनुसार तोकिएका जडीबुटी अनुमति लिएर संकलन गर्न सकिने भए तापनि हालसम्म कसैले चासो नदिँदा बहुमूल्य जडीबुटी खेर गएको हो । कार्यालयको रणनीतिक कार्ययोजनाअनुसार सरकारी वन क्षेत्रबाट ३१ प्रकारका जडीबुटी संकलन गर्न सकिने उल्लेख छ । यस वर्ष पाँच–औँले तीन हजार छ किलो, वन लसुन एक हजार २ सय, सतुवा एक हजार ६ सय ५०, पाखनवेद सात हजार ५ सय, जटामसी चार हजार ५ सय, पाषणवेद तीन हजार किलो संकलन गर्न सकिने कार्यालयले छ । यसैगरी कुरिलो एक हजार पाँच किलोग्राम, ठूलो ओखती दुई हजार २ सय ५०, मजिठो एक हजार ५ सय, सुगन्धवाल एक हजार ५ सय, बुहारीझार छ हजार, निमपात तीन हजार किलोग्राम संकलन गर्न सकिने कार्यालयका सूचना अधिकारी वन अधिकृत सरिता लामाले जानकारी दिइन् । उनका अनुसार धसिङगरे छ हजार किलोग्राम, तितेपाती दुई हजार ८ सय, गुर्जो एक हजार ६ सय, कालीकाठ १५ हजार, बेल तीन हजार, अमला एक हजार ७ सय ६०, सिलटीमुर सात हजार ५ सय किलो संकलन गर्न सकिने छ ।
त्यसैगरी कण्ठकारी ८ सय किलोग्राम, हर्रो एक हजार २ सय, बर्रो एक हजार ६ सय, पिपला १२ हजार, बनकरेला दुई हजार, नुनढिकी एक हजार ७ सय ५०, काफल आठ हजार, काउलो ६ सय, सिस्नु सात हजार दुई, चिराइतो १५ हजार र कुकुरडाइनो दुई हजार किलो संकलन गर्न सकिने छ । जिल्लामा ५ सय ८४ सामुदायिक वन, ४ सय ६० कबुलियति वन, एक धार्मिक वन तथा १२ निजी (दर्ता) वन रहेका छन् ।