वीरगन्ज (पर्सा) । वीरगन्जमा क्वारेन्टिन जाँच नगरिएका ताजा तरकारी सीमावर्ती भारतीय बजार रक्सौलबाट लुकीछिपी भित्रिने गरेका छन् । पर्सा र बारा जिल्लासँग जोडिएका खुला सीमानाकाको फाइदा उठाउँदै वीरगन्जको सीमावर्ती बजार रक्सौलबाट दैनिक साइकलमार्फत ताजा तरकारी भित्रिने गरेको छ । यहाँ दैनिक ‘क्यारिङ’ गर्ने साइकल चालकले ताजा तरकारी र फलफूल वीरगन्ज ल्याउने गर्छन् ।
साइकल चालकले दैनिक तरकारी तथा फलफूल पर्सा र बारासँग सीमा जोडिएको बाराको विश्रामपुर गाउँपालिका, वीरगन्ज महानगरको नगवा, इनर्वालगायत खुला नाकाको फाइदा उठाउँदै भित्र्याउने गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अजित भुजेलले खुला सीमानाकाबाट क्वारेन्टिन जाँचबिनै भित्रिने तरकारी तथा फलफूलले जनस्वास्थ्यमा असर पार्ने भएकाले पनि नियन्त्रणमा लिनुपर्ने बताए ।
बिहान सबेरैदेखि वीरगन्जमा दैनिक साइकल चालकले प्रतिसाइकलमा क्वारेन्टिन जाँचबिनै भारतीय तरकारी भित्र्याउने गर्दा पनि स्थानीय प्रशासन तथा सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीले कारबाही प्रक्रिया अघि बढाउन सकेका छैनन् । भन्सार प्रक्रिया पूरा गरेर क्वारेन्टिन जाँचमा योग्य भएका तरकारी तथा फलफूलमात्र भित्र्याउन पाइने प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए । “क्वारेन्टिन जाँचबिनै ताजा तरकारी तथा फलफूल ल्याउन पाइँदैन”, उनले भने, “कोही कसैले ल्याएका रैछन् भने आवश्यक अनुगमन गरेर नियन्त्रणमा लिइनेछ ।”
पर्साको सीमा क्षेत्रबाट भन्दा पनि बाराको विश्रामपुर गाउँपालिकासँग जोडिएको सीमावर्ती क्षेत्रबाट क्वारेन्टिन जाँचबिनै तरकारी भित्रिएर वीरगन्ज बजारमा पुग्ने गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले बताए ।