जनकपुरधाम । इन्धनमा दिनानुदिन भइरहेको मूल्य वृद्धिले निर्माण व्यवसायी मार्कामा परेको छन् । मधेश प्रदेश निर्माण व्यावसायी महासंघले डिजेल, पेट्रोल, मट्टितेललगायतका इन्धनमा भएको मूल्य वृद्धिबाट सम्पूर्ण निर्माण उद्योग नै ठप्प हुने अवस्थामा पुगेको जनाएको छ ।
महासंघले निर्माण क्षेत्रलाई जोगाउन मधेश प्रदेश सरकार समक्ष आग्रहसमेत गरेको छ । निर्माण व्यावसायी महासंघ मधेश प्रदेशले आइतबार पत्रकार सम्मेलन गरी मधेश प्रदेशका मुख्यमंत्री कृष्ण प्रसाद यादवलाई ध्यानकर्षण गराउन लागिएको जानकारी दिएको हो । महासंघ मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष कैलाश प्रसाद यादवले हाल निर्माण क्षेत्र ठप्प रहेको बताए । इन्धनमा भएको अप्रत्याशित मूल्य वृद्धिले पूर्वाधार क्षेत्रमा समस्या उत्पन्न भएको उनको भनाइ छ । मूल्य वृद्धिले निर्माण सामग्रीहरुको अभाव हुन पुगेकोले प्रायःनिर्माण उद्योग ठप्प हुने अवस्थामा रहेको उल्लेख गर्दै अब ‘म्याद थप’ अपरिहार्य रहेको बताए ।
निर्माण व्यावसायी महासंघ मधेश प्रदेशका अध्यक्ष मुन्ना चौधरीले सरकारले गाडी भाडादर समायोजन गरेझैं निर्माण व्यावसायीको समस्यामा पनि तत्काल ध्यान पुर्याउन आवश्यकता रहेको बताए । उनले सरकारले आफहरुको माग पूरा नगरे एकहप्तापछि ‘निर्माण होलिडे’ गर्ने चेतावनी दिए । निर्माण व्यवसायी मुन्ना साहले निर्माण व्यावसायीहरुले लिएका ठेक्काहरुमा झण्डै ९० प्रतिशतको निर्माण कार्य बन्द भइसकेको जानकारी दिए । बालुवा गिट्टी स्टोर गरेर राखेकाहरुले मात्र निर्माण कार्य जारी राखेको उनको भनाइ छ । डिजेल र पेट्रोलमा भएको अप्रत्याशित मूल्य बृद्धिले इँटा, बालुवा, गिट्टी, सिमेन्ट, डण्डी, विट्वीन(अलकत्रा) लगायतका सामग्रीमा अप्रत्यासित मूल्य वृद्धि भएको छ ।
मधेश प्रदेश निर्माण व्यावसायी महासंघका महासचिब उपेन्द्र चौधरीले निर्माण सामग्रीको मूल्य वृद्धिबारेमा संघीय सराकारलाई पटक–पटक जानकारी गराउँदै आए पनि कुनै सुनुवाइ नभएको बताए । उनले देश विकासको लागि निर्माण व्यावसायीको मांग सम्बोधन हुनु आवश्यकता रहेको उल्लेख गरे ।