नेपालको दूरसञ्चार क्षेत्रमा गहिरिँदै आएको स्मार्ट टेलकम प्रकरणमा नयाँ मोड आएको छ । स्मार्ट टेलकमका अध्यक्ष सर्वेश जोशी पक्राउ परेसँगै कम्पनीको स्वामित्व संरचना, आर्थिक निर्णयहरू र शक्ति–सञ्जालबारे गम्भीर प्रश्न उठेका छन् । प्रारम्भिक तथ्यअनुसार जोशी कम्पनीका वास्तविक प्रमोटर सतिसलाल आचार्यका नजिकका नातेदार हुन्, र पछिल्लो चरणमा कम्पनीका महत्वपूर्ण सेयरहरू जोशीको नाममा सारिएको देखिन्छ । यसलाई वास्तविक लाभग्राही लुकाउने तथा कानुनी जिम्मेवारीबाट जोगिने रणनीतिका रूपमा विश्लेषण गर्न
थालिएको छ ।
अर्कोतर्फ, जोशीमाथि राज्यलाई तिर्नुपर्ने बक्यौता र राजस्व नतिरी कम्पनीको ऋण व्यवस्थापनलाई प्राथमिकता दिएको आरोप पनि लागेको छ । उनले नियामक निकायको स्पष्ट अनुमतिविना नै बैंकलाई कम्पनीका दूरसञ्चार उपकरण बिक्री (लिलामी) गर्न अधिकार दिएको भनिएको छ, जसले सम्पत्ति व्यवस्थापन र कानुनी प्रक्रिया दुवैमा गम्भीर प्रश्न उठाएको छ । यस घटनाले राज्यको राजस्व असुली प्रक्रियालाई कमजोर बनाउँदै निजी दायित्व व्यवस्थापनलाई अघि सारिएको संकेत गरेको छ ।यो गिरफ्तारीसँगै अब स्मार्ट टेलिकम प्रकरण केवल एक कम्पनीको विवादमा सीमित नरही ठूलो आर्थिक सञ्जाल र प्रभावशाली सम्बन्धहरूको अनुसन्धानतर्फ उन्मुख भएको छ । विश्लेषकहरूका अनुसार स्वामित्व हस्तान्तरण, वित्तीय निर्णय र नियामक कमजोरीहरू जोडिँदै जाँदा यो प्रकरण उच्च तहका राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूसम्म पुग्न सक्ने संकेत देखिएको छ । अबको छानबिनले दूरसञ्चार क्षेत्रभित्र लुकेको व्यापक संरचनागत समस्या र सम्भावित मिलेमतो उजागर गर्ने अपेक्षा गरिएको छ ।
स्रोतका अनुसार सर्वेश जोशीले सतिसलाल आचार्य परिवारलाई एनसेल आजिआटा लि.मा रहेको क्रस–होल्डिङबाट जोगाउन, सरकारी बक्यौता तिर्ने दायित्वबाट उम्किन र सार्वजनिक अग्रीम रकमको हिसाबकिताब टार्न स्वामित्व संरचना आफ्नै नाममा सारेर संरक्षण दिएको आरोप छ ।यसै प्रकरणले अब आर्थिक दायित्व छल्ने, लाभग्राही लुकाउने र संगठित प्रभाव सञ्जालमार्फत नियामक प्रणालीलाई कमजोर बनाउने गम्भीर संकेत देखिएको स्रोतहरू बताउँछन् ।यस प्रकरणका अधिकांश तथ्यहरू त्यसबेला सार्वजनिक भए सर्वोच्च अदालतमा मुद्दा दायर भयो । उक्त मुद्दाको अर्को सुनुवाइ जेठ ६, २०८३ का लागि तोकिएको छ र अब अदालतले यस विषयलाई गम्भीर रूपमा लिँदै राज्यको बक्यौता राजस्व असुली तथा कानुनी जिम्मेवारी निर्धारणतर्फ निर्णायक कदम चाल्ने अपेक्षा गरिएको छ ।