बागलुङ । भारतीय केरा आयात रोकिएपछि नेपाली किसानले केराको उचित मूल्य पाउन थालेका छन् । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीले हाल केराको राम्रो मूल्य पाइरहेको बताए । उनका अनुसार स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै स्थानियको बारीमा धाउने गरेका छन् ।
पछिल्लो छ महिनायता गाउँका किसानले केरा बेच्नका लागि बजार जानु परेको छैन । ‘घरघरमै दिनदिनै आउने व्यापारीले केरा आफैँ खोज्छन्, आफैँले काट्छन् र गन्ती गरेपछि केराकै बोटको फेदमा पैसा बुझाउँछन् । यो देखेर यहाँका किसान दङ्ग छन्’, उनले भने । भारतीय केराको आयात रोकिएपछि यहाँका स्थानीय केराको मूल्य बढेको छ । जाडो मौसममा प्रतिदर्जन ६० रुपैयाँ र गर्मी मौसममा प्रतिदर्जन ८० रुपैयाँसम्ममा बिक्री हुँदै आएको थियो तर हाल दर्जनको सय रुपैयाँसम्म दिने गरेका छन् । बजार जाने झन्झट नहुने र बारीमै केराको मूल्य बढी पाउँदा निकै खुसी लागेको जैसी बताउँछन् । ‘दर्जनमा हिसाब हुने गाउँघरमा व्यापारीले किसानको बारीबाट नै केरा उठाएर थैलो भर्छन् । यहाँका किसानको दैनिकी धान्ने अर्को स्रोत केरा हो । नयाँ पुल आसपासका क्षेत्रमा केराखेती विस्तार हुँदै गइरहेको छ’, उनले भने ।
बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवाका किसान ईश्वरीप्रसाद शर्माले पनि पछिल्लो समय केराले राम्रो मूल्य पाएको बताए । बजारमा भारतीय केरा र नेपालको तराईको केरा आउँदा स्थानीय जातका केरा बिक्री गर्न कठिन हुने गरेको भएपनि पछिल्लो समय केराको माग उच्च रहेको उनको भनाइ छ । योबेला केरा फलाउन सकेको भए निकै राम्रो मूल्यमा बिक्री हुने रहेछ । जैमिनी नगरपालिका–१ कुश्मीशेराका किसान मोतीप्रसाद शर्माले भने, ‘अघिल्ला वर्षको तुलनामा यो वर्ष केराको माग उच्च छ ।’ माग र मूल्य दुवै बढेकाले केराखेती गरेका किसानले राहतको महसुस गरेको उनले बताए ।
वर्षात्को समयमा मात्रै कोदो र मकै फल्ने बारीलाई सदुपयोग गरेर यहाँका किसानले केराखेती गर्दै आएका छन् । मकै र कोदोको मूल्य हिसाब गर्दा वर्षमा १८ हजार कमाइ हुन्थ्यो, लगाउने गोड्ने दुःख त कति हो कति । शर्माले भने, ‘समयमा पानी र मल दिएपछि राम्रो फल्ने केराले अहिले मेरो दैनिकी नै बदलिएको छ ।’ पछिल्लो समय गाउँका किसानले परम्परागत खेतीलाई परिवर्तन गरेर केराखेती गरेका छन् । मोतीप्रसाद शर्माले जस्तै जैमिनीका किसानले बाँझो जग्गा र खेतीयोग्य जमिनमा केराखेती गरेका छन् । किसानले केराका लागि आवश्यक मलको जोहो गर्न गाईभैँसी पालेका छन् । खानेपानीका लागि प्रयोग भइरहेको पानीलाई बचत गरेर केरामा सिँचाइ गर्छन् ।
यहाँका किसानले स्थानीय रामरेखे लोकल, मालबोक, मुङ्ग्रे, धुस्रे, फुस्रे, जहाजी, चिनीकेरालगायत केराखेती गरेको जैमिनी नगरपालिकाका कृषि प्राविधिक रविन्द्र शर्मा बताउँछन् । ‘कसैले व्यावसायिक खेती गरेका छन् भने केहीले आफ्नो धेरैथोरै जग्गामा दुई चार बोटमात्रै केरा लगाएरै अम्दानीसँग जोडिएका छन्’, उनले भने । बजारमा पनि पछिल्लो समय स्थानीय केराकै माग धेरै छ । स्थानीय जातको केरा पकाउनका लागि कुनै विषाधीको प्रयोग गर्न नपर्ने र खाँदा स्वादिलो भएकाले केराको माग उच्च रहेको बागलुङ बजारका व्यवसायी सागर सुवेदीले बताए । यहाँको केरा पाकेपछि पनि लामो समय टिक्छ, घाटा हुँदैन । सुवेदीले भने, ‘तराई र भारतको केराभन्दा व्यवसायी र उपभोक्ता दुवैलाई यो केरा फाइदा हुनेखालको छ ।’ पछिल्लो समय केराको मूल्य बढाएरै किसानलाई भुक्तानी दिने गरिएको सुवेदीले बताए । उनका अनुसार पछिल्लो एक वर्षयता बागलुङ बजारमा केराको माग स्थानीय केराले नै धानेको छ ।
बजारमा स्थानीय केराको मूल्यप्रति दर्जन १२० देखि १८० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । एकद रुपमा तराईबाट आउने केराको मूल्य भने प्रतिदर्जन २५० रुपैयाँ भन्दा धेरै छ । बागलुङ बजारमा दर्जन बढी होलसेल व्यपारीमार्फत दैनिक सय कार्टुनभन्दा धेरै भारतीय केरा भित्रिने गरेको थियो । एक हजार तीन सयदेखि एक हजार छ सय प्रतिकार्टुन तिरेर यहाँका व्यवसायीले केरा खरिद गर्ने गरेका थिए । तर अहिले त्यो सबै माग स्थानीय केराले धानेको स्थाय थोक व्यवसायी खिमबहादुर केसीले बताए । यति नै भनेर तथ्यांक राखिएको त छैन तर दैनिक दुई लाखमाथि केराको खरिदमा बाहिरिने गरेको थियो । केसीले भने, ‘मागेजति त पुगेको छैन, तर अहिले लोकल केराले अभाव हुन भने दिएको छैन ।’
बागलुङका स्थानीय सरकारले पनि केराखेतीको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम बनाएका छन् । जैमिनी नगरपालिकाले ‘शेरा जाउँ केरा खाउँ’ अभियान नै घोषणा गरेको छ । किसानलाई बीउ मल र बजारीकरणमा स्थानीय सरकारले सहयोग गर्ने गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।