दोलखा । दोलखाको वैतेश्वर गाउँपालिकाले धुलिखेल अस्पताल र पोसिबल स्वास्थ्यसंग सामुदायिक स्वास्थ्य कार्यक्रम संचालन गर्ने सम्झौता गरेको छ ।
ग्रामीण तथा दुर्गम बस्तीका नागरिकलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले बुधबार दुई संस्थासंग सम्झौता गरेको हो । सदरमुकाम चरिकोटमा बुधबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष छवि लामासहित धुलिखेल अस्पतालका प्रमुख विराट आचार्य र पोसिबल स्वास्थ्यका प्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । यस सहकार्यमार्फत जीवनचक्रमा आधारित स्वास्थ्य सेवालाई अझ व्यवस्थित बनाउँदै सबै नागरिकको पहुँचमा पुर्याउने लक्ष्य लिइएको छ । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले वार्षिक १५ लाख रुपैयाँ बजेट विनियोजन गर्नेछ । गाउँपालिकाले दुवै संस्थासँगको सम्झौता अनुसार सामुदायिक स्वास्थ्यकर्ता व्यवस्थापन गर्ने जनाएको छ । धुलिखेल अस्पताल र पोसिबल स्वास्थ्यले २०७३ सालदेखि दोलखाका भीमेश्वर, वैतेश्वर, तामाकोशी र कालिञ्चोक लगायत चार स्थानीय तहमा यस्तो कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
यस कार्यक्रमअन्तर्गत अस्पतालसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, गर्भवती महिला, सुत्केरी आमा तथा शिशुको स्वास्थ्य अवस्था अनुगमन, स्वास्थ्य परामर्श, रक्तचाप जाँच, सर्ने तथा नसर्ने रोगसम्बन्धी सचेतना, महामारी नियन्त्रणमा सहयोगलगायतका कार्य गरिने धुलिखेल अस्पतालका जनस्वास्थ्य अधिकृत पवन न्यौपानेले जानकारी दिए । त्यसैगरी गर्भवती तथा सुत्केरी आमाहरूको नियमित भेटघाट गर्दै ग्रामीण क्षेत्रमा अल्ट्रासाउन्डमार्फत गर्भ जाँचसमेत गर्ने उनको भनाइ छ । अस्पतालका अनुसार गत वर्ष चार स्थानिय तहमा ४४ जना सामुदायिक स्वास्थ्यकर्मीमार्फत १४ हजार १ सय ३१ जनालाई घरभेट सेवा प्रदान गरिएको थियो । यस्तै ६ सय ९४ सुत्केरी महिलालाई कार्यक्रममा आबद्ध गराएको उनले जानकारी दिए । साथै ३ सय ४२ महिलाको अल्ट्रासाउन्डमार्फत गर्भ परीक्षण गरिएको न्यौपानेले बताए ।
पोसिबल स्वास्थ्यकी डा. सदिच्छा शर्माले यस कार्यक्रममार्फत ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार भइरहेको बताइन् । कार्यक्रममा कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटी, तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष सिर्जना सुवेदी, प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीलगायतले सामुदायिक स्वास्थ्य कार्यक्रमको आवश्यकता र प्रभावबारे धारणा राखेका थिए । यस सहकार्यले दुर्गम बस्तीका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमै उपलब्ध गराउँदै स्वास्थ्य पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।