काभ्रेपलाञ्चोक । तीन दिनपछि बाढीले अवरुद्ध बिपी राजमार्ग आज विहानबाट खुलेको छ । अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा बिहीबार बिहानदेखि सवारी आवागमन खुलेको हो ।
वर्षा जारी रहेकाले अत्यावश्यक बाहेक यो मार्गबाट यात्रा नगर्न जिल्ला प्रहरी कार्यालयले सम्बद्ध सबैमा अनुरोध गरेको छ । गत सोमबारको वर्षासँगै रोशी खोलामा आएको बाढीले बाटो बन्द भएको थियो ।
राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई धुलिखेल तथा काभ्रेभञ्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा राखिन्छ । वर्षा हुनेबित्तिकै रोशी क्षेत्रको करिब चार किलोमिटर क्षेत्रमा निर्माण गरिएको अस्थायी डाइभर्सनमा क्षति पुग्ने भएकाले प्रहरीले आवागमन बन्द गराउने गरेको छ ।
राजमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा गत सालको बाढीपहिरोले १८ किमी सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी सवारी साधन सञ्चालन गरिएको थियो । हाल उक्त क्षेत्रमा सडक निर्माण भइरहेको छ ।