काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री बालेन्द्र शाह सम्बोधन अवधिभर आफ्नो आसनमा बस्न सकेनन् । उनी राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दागर्दै बसेको ठाउँबाट उठेर संसद् भवनबाट बाहिरिएपछि उनको व्यवहारका बारेमा चौतर्फी रूपमा प्रश्न गरिन थाल्यो । त्यसपछि प्रधानमन्त्री शाहको सल्लाहकार समूहका एक महत्वपूर्ण पात्र मानिने असिम साहले प्रधानमन्त्रीको स्वास्थ्य ठीक नभएको भनी सामाजिक सञ्जालमा पोस्ट गरेपछि नेपाली सार्वभौम नागरिकले आफ्नो प्रिय प्रधानमन्त्री अस्वस्थ रहेको जानकारी त पाए तर प्रधानमन्त्री के बिरामी भएका हुन् भन्ने जानकारी अझै पाएका छैनन् ।
राष्ट्रपति पौडेलले गत वैशाख २८ गते संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सरकारले उक्त नीति तथा कार्यक्रम त्यसै दिन मध्याह्न मन्त्रिपरिषद्को बैंठकबाट पारित गरेको थियो । मन्त्रिपरिषद्को अध्यक्षता प्रधानमन्त्री शाहले नै गरेका थिए । राष्ट्रपति पोडेलले संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि प्रधानमन्त्री शाहले सभामुख डीपी अर्यालको आग्रहपछि त्यसलाई राष्ट्रपति पौडेलसमक्ष पेस गरेका थिए र त्यसलाई राष्ट्रपति पौडेलले वाचन गर्दै गर्दा प्रधानमन्त्री शाह बीचैमा उठेर संसद् भवनबाट बाहिरिए पनि उनको कुर्सी खाली नै राखेर राष्ट्रपति पौडेलले सम्बोधन जारी राखेका थिए ।
राष्ट्रपतिले सम्बोधन गरिरहँदा सांसदहरूले पनि प्रधानमन्त्री शाह फर्कने आशा मारेका थिएनन् तर उनी फर्किएनन् । सरकारको नीति तथा कार्यक्रम संसद्मा टेबल गरियो र त्यसमाथि बोल्ने क्रम पनि सुरु भयो, सरकारको नीति तथा कार्यक्रममाथि विभिन्न प्रश्नहरू पनि उठाइए । त्यसमाथि प्रधानमन्त्री शाहको जवाफ माग्न थालियो तर प्रधानमन्त्री शाह संसद्मा उपस्थित हुनै छाडे । राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा उठेर हिँडेका प्रधानमन्त्री शाहको अमर्यादित व्यवहारमाथि जताततै प्रश्न उठ्न थालेपछि उनका सल्लाहकार असिम साहले प्रधानमन्त्री शाहको स्वास्थ्यमा समस्या आएको म्यासेज सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
आम नागरिक त्यही पोस्टको भरमा चुप लागे तर संसद्मा प्रधानमन्त्री शाहको उपस्थितिको माग हुन थाल्यो, त्यही विषयमा २९ र ३० गते संसद् अवरुद्ध हुन पुग्यो, संसद्मा नाराबाजी भयो, सत्तापक्ष र सम्पूर्ण विपक्षबीच घम्साघम्सी हुने अवस्था समेत सिर्जना भयो तर प्रधानमन्त्री शाह संसद्मा उपस्थित भएनन्, सांसदहरूको प्रश्नको जवाफ दिन तयार भएनन् । त्यसपछि वैशाख ३१ गतेको संसद्को बैठकमा प्रधानमन्त्री शाहको निर्देशनमा सरकारको नीति तथा कार्यक्रमका बारेमा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिएका छन् । त्यसको मतलब के हो भने प्रधानमन्त्री शाह अझै स्वस्थ भइसकेका छैनन् र उनी सांसदको प्रश्नको जवाफ दिन उभिन सक्ने अवस्थामा रहेका छैनन् । तर प्रधानमन्त्री शाहले विश्वासिलो र भरपर्दो माध्यम ठानेर प्रमोट गर्दै आएको सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा प्रधानमन्त्री शाह संसद् भवनकै अर्को कोठामा रहेको सूचना सम्प्रेषण भएका थिए र प्रधानमन्त्री शाहको स्वास्थ्य बिग्रेका भनेर उनकै सल्लाहकारले सामाजिक सञ्जालमा लेखेको चार दिन बितिसक्दा पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे नागरिकलाई थप जानाकारी दिइएको छैन । यसबीचमा प्रधानमन्त्री शाहलाई कुनै अस्पताल भर्ना गरिएको अथवा उनका निजी सल्लाहकार चिकित्सकहरूले पनि उनको पछिल्लो स्वास्थ्य अवस्थाबारे कहीँ कतै केही बताएका छैनन् ।
प्रधानमन्त्री बालेन्द्र शाह नेपालको इतिहासकै सबैभन्दा शक्तिशाली जननिर्वाचित प्रधानमन्त्रीमध्येमा पर्छन् । उनको दलले गएको आम निर्वाचनमा दुई तिहाइ बहुमत प्राप्त गरेको छ । उनीप्रति अपार जनसमर्थन रहेको छ । त्यस्तो लोकप्रिय प्रधानमन्त्री संसद्मा उपस्थित नभएको विषय हाँसीमजाकको विषय हुन सक्दैन । यो कसैका लागि खिसिट्युरीको विषय बनेको होला, तर उनी जानीजानी वा सक्ने भएर पनि संसद्मा हेपेर नगएका होलान् भन्न सकिँदैन ।
अहिले प्रत्यक्ष निर्वाचन गर्ने हो भने प्रधानमन्त्री शाहसँग प्रतिस्पर्धा गर्न अगाडि सर्ने उपयुक्त व्यक्ति पनि पाइने अवस्था छैन । यस्तो सर्वप्रिय, लोकप्रिय प्रधानमन्त्री अस्वस्थ भएको कुरा लुकाएर राख्नु राम्रो संकेत होइन । खरीपाटीमा भएको सेनाको कार्यक्रममा दौरासुरुवाल र छाला जुत्तामा ठाँटिएर पुगेको प्रधानमन्त्री शाह राष्ट्रपतिले संसद्को संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समारोहमा स्खलित रूपमा उपस्थिति हुँदा नै अशुभ संकेत मिलेको थियो । त्यसपछि त्यहीँबाट उठेर हिँडेका प्रधानमन्त्री शाहको अनुहार सांसदले हेर्न पाऊँ भन्दा पनि पाएका छैनन् । यस्तो अवस्था आउनुमा साँच्चै उनका सल्लाहकार साहले स्टाटस लेखेजस्तो स्वास्थ्यकै कारणले हो भने सार्वभौम सत्तासम्पन्न सम्पन्न नेपाली नागरिकलाई सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको स्वास्थ्यका बारेमा किन गुमराहमा पारेर राखेको हो ? यस्तो गर्न पाइँदैन र शीघ्रातीशीघ्र प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सार्वजनिक गरिनुपर्दछ ।
यसअघि चुनाबी दौडका क्रममा पनि उनको स्वास्थ्यमा सुर्खेत पुग्दा एक्कासि समस्या आएपछि सैनिक हेलिकोप्टारमा ल्याएर ग्राण्डी अस्पतालमा उपचार गरिएको थियो तर के भएको थियो भन्ने विवरण त्यतिबेला पनि खुलाइएको थिएन । त्यतिबेला उनी एउटा उम्मेदवार मात्र थिए तर अहिले त प्रधानमन्त्री नै हुन् । प्रधानमन्त्रीलाई पखाला लागेको हो कि तलतल लागेको हो, के हो ? के भएको हो त्यो जान्ने हक नेपाली जनतालाई छ । उनलाई के भएको हो भन्ने कुरा सरकारले सार्वजनिक गर्नुपर्दछ । यसरी जनतालाई गुमराहमा पारेर राख्न पाइँदैन । संसद्मा बोल्न नजानेर संसद्लाई फेस गर्न नसक्ने अक्षम भएर प्रधानमन्त्री बालेन्द्र शाह अहिले संसद्मा नभेटिएका पक्कै होइनन् । कसैले लुकाएर उनी लुकेको होलान् भन्ने कुरामा पनि विश्वास गर्न सकिँदैन । उनको स्वास्थ्यमा समस्या आएको भन्ने कुरा त्यसै चुहिएको पक्कै होइन, के रोग लागेको हो, कुन अवस्था छ भन्ने कुरा सरकारले जनतालाई सुसूचित गर्न ढिला गर्नु हुँदैन ।