दोलखा । जिल्लाका ९ स्थानीयतहहरूमा व्यापक बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयको सार्वजनिक ६३औैं वार्षिक प्रतिवेदनअनुसार यहाँका ९ स्थानिय तहमा ११ करोड १४ लाख रुपैयाँ बेरुजु देखिएको हो ।
आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणमा दोलखाका स्थानीय सरकारहरूको बेरुजु अघिल्लो वर्षको तुलनामा भने केही घटेको देखिएको छ । आव २०८१/०८२ मा १४ करोड ३९ लाख रुपैयाँ बेरुजु देखिएको थियो । गत आवमा ३ करोड २४ लाख ७ हजार रुपैयाँले बेरुजु घटेको देखिएको छ । जिल्लाको शैलुङ गाउँपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ भने सबैभन्दा बढी विगु गाउँपालिकामा देखिएको छ । शैलुङ गाउँपालिकामा ४८ लाख ८८ हजार रुपैयाँ बेरुजु देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा एक करोड ५७ लाख ८६ हजार रुपैयाँ बेरुजु रहेको थियो । विगु गाउँपालिकाको बेरुजु २ करोड ७५ लाख ८८ हजार रुपैयाँ रहेकोे छ । विगुको अघिल्लो वर्षको बेरुजु ५ करोड ४३ लाख ४५ हजार रुपैयाँ रहेकोे थियो । त्यसैगरी वैतेश्वर गाउँपालिकाको बेरुजु २ करोड ७५ लाख रुपैयाँ रहेकोे छ । वैतेश्वरको अघिल्लो आवको बेरुजु रकम १ करोड ३३ लाख रुपैयाँ रहेकोे थियो । वैतेश्वरको बेरुजु भने बढेको छ ।
मेलुङ गाउँपालिकाको बेरुजु ४९ लाख ७१ हजार रुपैयाँ देखिएको छ । मेलुङको अघिल्लो वर्षको बेरुजु रकम ६८ लाख ७७ हजार रुपैयाँ रहेको थियो । त्यसैगरी गौरीशंकर गाउँपालिकाको बेरुजु ८४ लाख रुपैयाँ रहेकोे छ । यस पालिकाको अघिल्लो आर्थिक वर्षको बेरुजु रकम २ करोड ९ लाख ९४ हजार रुपैयाँ थियो । तामाकोशी गाउँपालिकाको बेरुजु ५५ लाख ५८ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा तामाकोशीको बेरुजु ८७ लाख १० हजार रुपैयाँ थियो । अघिल्लो आवमा जिल्लामै सबैभन्दा कम बेरुजु कायम गर्न सफल भएको जिरी नगरपालिकाको पनि बेरुजु रकम बढेको छ । अघिल्लो वर्ष २०८०/०८१ मा १७ लाख ४२ हजार रुपैयाँ बेरुजु रहेकोे जिरीमा गत आवमा भने बढेर ८५ लाख ८८ हजार रुपैयाँ कायम भएको छ ।
भीमेश्वर नगरपालिकाले भने बेरुजु घटाएको छ । आव २०८०/०८१ मा ३ करोड १५ लाख रुपैयाँ बेरुजु रहेको नगरपालिकाको बेरुजु गत वर्ष घटेर १ करोड ५६ लाख रुपैयाँ देखिएको छ । त्यसैगरी कालिञ्चोक गाउँपालिकाको बेरुजु रकम पनि घटेको छ । यस गाउँपालिकाको बेरुजु ९२ लाख ६८ हजार रुपैयाँ रहेकोे छ । अघिल्लो आर्थिक वर्षको बेरुजु १ करोड ९१ लाख ९४ हजार रुपैयाँ रहेकोे थियो । वैतेश्वर र जिरी बाहेक अरु स्थानिय तहले भने बेरुजु घटाएका छन् । जिरीको बेरुजु समान्य बढे पनि वैतेश्वरको भने उल्लेख्य बढी देखिएको छ । यस्तै जिल्लामा सबैभन्दा बढी बेरुजु देखिएको विगुले अघिल्लो वर्षमा भन्दा गतवर्षमा उलेख्य बेरुजु रकम कम गरेको छ ।