दोलखा । पछिल्लो समय सामुदायिक विद्यालयहरू विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगेका छन् । बढ्दो बसाइँसराइ र सहर केन्द्रित बसोबासले गाउँका सामुदायिक विद्यालका कक्षा खाली बन्दै गएको समयमा जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर–३ मा भने सामुदायिक विद्यालय जोगाउन स्थानीयले चासो देखाएका छन् । यहाँको कालिढुङ्गा माध्यमिक विद्यालयलाई स्थानीयले ४ रोपनी बढी जग्गा विद्यालयलाई दान गरेका छन् ।
विद्यार्थी अभावमा विद्यालय नै बन्द हुने अवस्थामा पुगेको देखिपछि मिर्गेका स्थानियले झण्डै ४ किलोमीटर टाढा मजुवामा स्थित कालिढुङ्गा माविको शाखा विद्यालय भवन मिर्गेमा स्थापना गर्न जग्गा दान गरेका हुन् । मिर्गेदेखि मजुवा पुग्न कम्तिमा विद्यार्थीले डेढ घण्टा हिड्नु बाध्यताको अन्त्य गर्दै शाखा विस्तार गरिएको हो । तल्लो कक्षाका साना विद्यार्थीको सहजताको लागि मिर्गेको देवीथान नजिकै स्थानीयबाट दान प्राप्त जग्गामा अस्थायी विद्यालय भवन निर्माण गरेर पठनपाठन सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिक तामाङले बताए । हाल विद्यालय रहेकोे मजुवामा विद्यार्थीको संख्या न्युन रहेको तथा मिर्गे, चिलाउने खड्गा, जैनालु र पाइलेमा विद्यार्थीको उपस्थिति बाक्लो रहेकाले यहाँका विद्यार्थीको सहजताका लागि स्थानीयले विद्यालयलाई जग्गा दान दिएका हुन् । जग्गा दान प्राप्त भएपछि आइतबारदेखि बालविकास देखि कक्षा–७ सम्म पठनपाठन गर्न शाखा विद्यालयको संचालन गरिएको छ । विद्यालयको उद्घाटन वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा र वडा अध्यक्ष कमल अधिकारीले गरेका थिए ।
अध्यक्ष लामाले विद्यालयको भौतिक व्यवस्थापन तथा शिक्षक दरबन्दीको व्यवस्था गाउँपालिकाले गर्ने बताए । विद्यालय मिलन र मर्जको अवस्थामा पुगेको विद्यालयलाई टिकाउन स्थानीय चासो दिएर लागि परेको भन्दै उनले जग्गादाताहरूलाई धन्यवाद दिए । विद्यालयलाई जग्गा दान गर्ने स्थानीयहरूमा बम बहादुर तामाङ, गंगी तामाङ, माला तामाङ, खेशर तामाङ, दुर्गा बहादुर थापा, भिम्शेन थापा, टलक तामाङ, रवि तामाङ, यम बहादुर तामाङ, निकेश तामाङ, रोलिना तामाङ, मनिक तामाङ, भिम बहादुर तामाङ, ढाल बहादुर तामाङलगायत १५ जना रहेका छन् । वाल कक्षादेखि १२ जम्मा अध्ययन हुने उक्त विद्यालयमा पुरानो विद्यालय मजुवामा ७३ जना र शाखा विद्यालयमा ७६ जना गरी एक सय ४९ जना विद्यार्थी रहेकोे विद्यालयका प्रधानाध्यापक पुष्कर कुमार दाहालले जानकारी दिए ।