विराटनगर । विराटनगर र बुुटवलका उद्योगी व्यवसायीबीच सहकार्य गर्ने व्यावसायिक हक, हितको सम्बर्द्धन र निजी क्षेत्रको साझा मुद्दाहरूका विषयमा सहकार्य गर्ने सहमति भएको छ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका प्रतिनिधिले उद्योग संगठन मोरङ र मोरङ उद्योग व्यापार संघका पदाधिकारीसंग गरेको छलफलमा सो सहमति गरेका हुन् । संगठनका अध्यक्ष नन्दकिशोर राठीले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । अध्यक्ष राठीले उद्योग व्यवसाय क्षेत्र अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको भन्दै उद्योगी व्यवसायीका साझा मुद्दामा देशभरका उद्योगीहरू एकजुट हुनुपर्नेमा जोड दिए । उनले उद्योगको संरक्षण, लगानीमैत्री वातावरण निर्माण, औद्योगिक नीतिमा सुधारका लागि निजी क्षेत्रका संस्थाबीच सहकार्यको आवश्यकता औँल्याए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले उद्योग व्यवसायको उद्गमस्थलका रूपमा रहेको विराटनगरका व्यवसायीबाट बुटवलले सिक्नुपर्ने धेरै कुरा रहेको बताए । उनले मुलुकको आर्थिक संकट, बजारको संकुचन तथा घट्दो क्रयशक्तिका कारण व्यवसाय क्षेत्र प्रभावित भइरहेको उल्लेख गर्दै यस्तो अवस्थामा निजी क्षेत्रबीच अनुभव आदानप्रदान र सहकार्य अपरिहार्य रहेको बताए । उद्योग संगठन मोरंगका निवर्तमान अध्यक्ष राकेश सुरानाले निजी क्षेत्रबीच सहकार्य, समन्वय र साझा धारणा निर्माणमार्फत मात्रै राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउन सकिने उल्लेख गरे । त्यसैगरी संगठनका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले वर्तमान आर्थिक अवस्थाले उद्योगी व्यवसायीलाई ठूलो दबाबमा पारेको बताए ।
मोरङ उद्योग व्यापार संघका का.वा. अध्यक्ष अनिल कुमार साहले दुवै संघ सीमावर्ती क्षेत्रमा अवस्थित रहेकाले आफ्ना संघहरूलाई उद्योगी–व्यवसायीहरूका वास्तविक समस्याहरू थाहा हुने बताए । आफ्ना संघहरूको आवाजलाई सरकार र सम्बन्धित निकायहरूले समयमै गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो । संघका उपाध्यक्ष अनिल सारडाले जीआई वायर उद्योगलाई धरासायी बनाउने सरकारको त्रुटिपूर्ण नीति संशोधन, उच्च बैंक ब्याजदरलाई एकल अंकमा कायम तथा लोडसेडिङ न्यूनिकरणका लागि संघले देशव्यापी सशक्त आन्दोलनको नेतृत्व गरेको स्मरण गर्दै आगामी दिनमा पनि सहकार्य गर्नुपर्ने बताए । त्यसैगरी, अर्का उपाध्यक्ष विकास कुमार बेगवानीले लाखौँ उत्पादनहरूमध्ये कुनै एकमा त्रुटि देखिँदा, सोही विषयलाई लिएर समग्र उद्योगकै मान–मर्यादा र अस्तित्वमाथि प्रश्न उठाउने नियत र प्रवृत्ति बन्द हुनुपर्नेमा जोड दिए ।