काठमाडौँ, बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजाविरुद्धको खोप–औषधि रसुवा पठाएको छ । बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान त्यसतर्फ पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।
स्वास्थ्यमन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथामका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिएकी थिइन् । स्वाथ्यमन्त्रीको सचिवालयका अनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको छ ।