चितवन । ७७ वटै जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । सबै जिल्लाको संसद्सम्म जनताको आवाज पुर्याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको सो पार्टीले जानकारी दिएको छ ।
नागरिकले आफ्ना समस्या बेथिति, भ्रष्टाचार, विकास योजनाजस्ता समस्या भएमा सांसदलाई सम्पर्क गर्न सकिने र त्यसका लागि अत्यावश्यक अवस्थामा गर्नुपर्ने फोनबाहेक आफ्ना सूचना र सन्देश ह्वाट्सएपमा पठाउन रास्वपाले आग्रह गरेको छ ।
सांसद डोलप्रसाद अर्याललाई बारा, धादिङ, कञ्चनपुर र कैलाली, विराजभक्त श्रेष्ठलाई गुल्मी, दार्चुला, अछाम र पाल्पा, सन्तोष परियारलाई भक्तपुर, अर्घाखाँची, दैलेख र बाजुरा, निशा डाँगीलाई झापा, मोरङ, इलाम र सल्यान, मनिष झालाई धनुषा, रौतहट, रुपन्देही र बझाङ, गणेश पराजुलीलाई ओखलढुङ्गा, खोटाङ, सिराहा र डडेलधुरा, सोविता गौतमलाई दोलखा, रामेछाप, सिन्धुपाल्चोक र जाजरकोट, सुमना श्रेष्ठलाई रसुवा, काठमाडौँ, रुकुमपूर्व र रुकुमपश्चिम, डा. तोसिमा कार्कीलाई ताप्लेजुङ, पाँचथर, डोटी र ललितपुरको जिम्मेवारी तोकिएको रास्वपाले विज्ञप्ति मार्फत जनाएको छ ।
“नीतिगत सुधार र जनसवालका विषयमा हाम्रा सांसदहरूसंँग देशभरका सचेत नागरिकले सीधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलन्द गर्न, आम आवाजलाई नीतिमा समेट्ने र अब्बल नीति र त्यसको कार्यान्वयनमार्फत मुलुकको अवस्था बदल्नका लागि सांसदहरूलाई विभिन्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको ब्यहोरा सबैलाई विनम्र सूचित गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।